क्यान महासंघ र एनएमडीएबीच मोबाइल उद्योगको विकास तथा चुनौती समाधानका लागि संस्थागत सहकार्य सुरु

काठमाडौं । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई प्रमुख छाता संगठन क्यान महासंघ र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडीए) बीच मोबाइल उद्योगको विकास तथा क्षेत्रका विद्यमान चुनौती समाधानका लागि संस्थागत सहकार्य भएको छ।

आइतबार क्यान महासंघको खुसिबुस्थित केन्द्रीय कार्यालयमा दुवै संस्थाका नेतृत्वबीच भएको छलफलले मोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत सुधार, बजार व्यवस्थापन तथा अवैध कारोबार नियन्त्रणका विषयमा संयुक्त पहल गर्ने प्रतिबद्धता जनाएको हो।

छलफलमा विशेषगरी मोबाइल क्षेत्रमा देखिएको नीतिगत अस्पष्टता, अनधिकृत माध्यमबाट भित्रिने मोबाइल फोनको कारोबार , हार्डवेयर व्यवसायको नियमन तथा समग्र मोबाइल इकोसिस्टमलाई व्यवस्थित बनाउने विषयमा विचार-विमर्श भएको थियो।

क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी र एनएमडीएका अध्यक्ष रघु त्रिपाठीले संयुक्त सहकार्यले नेपाली मोबाइल बजारलाई सुरक्षित, पारदर्शी तथा व्यवस्थित बनाउन नीतिगत तहमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

बैठकमा मोबाइल क्षेत्रका समस्या समाधानका लागि संयुक्त नीतिगत पैरवी गर्ने सहमति पनि भएको जनाइएको छ।

क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीले सूचना प्रविधि र मोबाइल क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधार बनिसकेको उल्लेख गर्दै यस क्षेत्रमा रहेका विकृति र अव्यवस्थाको अन्त्यका लागि संस्थागत सहकार्य आवश्यक रहेको बताए। उनले अवैध आयात तथा ग्रे मार्केटका कारण राज्यले राजस्व गुमाउनुका साथै वैधानिक व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भइरहेको भन्दै यसविरुद्ध संयुक्त रूपमा आवाज उठाइने बताए।

त्यस्तै, एनएमडीएका अध्यक्ष त्रिपाठीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को प्रभावकारी कार्यान्वयन, व्यवस्थित आयात नीति तथा मोबाइल व्यवसायमैत्री वातावरण निर्माणका लागि क्यान महासंघसँगको सहकार्य महत्वपूर्ण हुने बताए।