इटहरीमा ‘विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर’ बन्ने,एभरेष्ट बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौँ । नेपालको पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा रिसोर्टसहितको भव्य र अत्याधुनिक सम्मेलन केन्द्र निर्माण हुने भएको छ । एकै पटक कुल ४ हजार मानिस अटाउने विशाल क्षमताको ‘एबी हस्पिटालिटी’ (विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर) निर्माण कार्य सुनिश्चित भएको हो ।

अन्तर्राष्ट्रिय मापदण्डको यस बहुप्रतीक्षित सम्मेलन केन्द्रको निर्माणसँगै पूर्वी नेपाल मात्र नभई सिङ्गो मुलुककै आतिथ्यता उद्योग र आर्थिक गतिविधिमा दूरगामी एवं सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । नेपालका स्थापित पर्यटन व्यवसायी देशबन्धु बस्नेत (अजित) ले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रूपमा अगाडि बढाएको यस वृहत् परियोजनाका लागि आवश्यक पर्ने कुल वित्तीय व्यवस्थापन (लोन सिन्डिकेसन) को काम समेत सफलतापूर्वक सम्पन्न भएको छ। यस मेगा प्रोजेक्टको वित्तीय व्यवस्थापनमा एभरेष्ट बैंक लिमिटेडले मुख्य नेतृत्व (लीड बैंक) लिएको छ भने राष्ट्रिय स्तरको मुक्तिनाथ विकास बैंकले यसमा बलियो सहकार्य गरेको छ ।

एबी इन्भेष्टमेन्ट होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेतले नै यस नयाँ महत्वाकाङ्क्षी परियोजनाको रणनीतिक नेतृत्व गर्नेछन्। व्यवसायी बस्नेतले गत वर्ष मात्रै काठमाडौँमा अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड ‘मक्र्योर’ भित्र्याएका थिए भने हालै मात्र इटहरीमै पाँच तारे सुविधायुक्त ‘रमडा बाई विन्डम’ होटल सफलतापूर्वक सञ्चालनमा ल्याइसकेका छन् ।