कांग्रेस पार्टीभित्र निरंकुशता शुरु भएको छ: डा शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता शुरु भएको बताएका छन ।

कोइरालाले लोकतन्त्र ईतिहाँसकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा विपिले लिनुभएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको बताए । नेपाली कांग्रेस अब बिपि कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको बिकल्प नभएको कोइरालाको भनाई थियो ।

कोइरालाले भने-“नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउँन नेपालका सबै शक्तिका बिचमा सहकार्य र एकता जरुरी छ।”

बिराटनगरमा आयोजित कोशी प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले गगन थापासँग कुराकानी गर्दा आफुले राखेका पाँचवटा कुरा स्विकारेको बताउँदै उनले भने-” सहमति गर्न अहिले के कुराले रोक्यो ?”

गगन थापाले कोइराला निवासमा पुगेर पार्टीका साथीहरूलाई कारबाहीको धम्की दिएपछि बाध्य भएर आफुले राखेका ५ बुँदे सार्वजनिक गरेको बताए ।

सहमतिबिना कांग्रेस पार्टी एक कदम अगाडि बढ्न नसक्ने भन्दै उनले भने-“गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुभएको सहमति, सहकार्य र एकता बाटै हामी हिड्नुपर्छ, त्यसका लागि सहमति, सहकार्य र एकता आफ्नै पार्टीभित्रबाट शुरु गर्नुपर्छ ।”

कोइरालाले आफुले कुनैपनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।