गत बुधबार अन्तिम ३२ को खेलमा बोस्निया र हर्जगोभिनाविरुद्ध २–० को जित निकाल्ने क्रममा बालोगनलाई ‘रेड कार्ड’ दिइएको थियो । सुरुमा रेफ्री राफेल क्लाउसले फाउल समेत नदिएको यो घटनामा भिडियो सहायक रेफ्री (भीएआर)ले हस्तक्षेप गरेपछि बालोगनलाई सिधै रातो कार्ड देखाइयो ।
स्लो–मोसन रिप्ले आधारमा दिइएको यो कार्डलाई विश्वभरका फुटबल पण्डितहरूले ‘अत्यन्तै कठोर’ निर्णय भनेका थिए । मोनाकोका लागि व्यावसायिक फुटबल खेल्ने बालोगनले जारी विश्वकपमा ३ गोल गरिसकेका छन् र उनी अमेरिकी टोलीका मुख्य हतियार हुन् ।
सामान्यतया फिफाको अनुशासन संहितामा ‘सिधा रातो कार्ड’ विरुद्ध अपिल गर्ने प्रावधान छैन । तर, फिफाले आफ्नो नियमावलीको दुर्लभ प्रयोग हुने ‘धारा २७’ लाई सक्रिय बनाउँदै यो प्रतिबन्ध निलम्बन गरेको छ ।
यस धाराले फिफाको न्यायिक समितिलाई कुनै पनि अनुशासनात्मक कारबाही पूर्ण वा आंशिक रूपमा रोक्ने विशेषाधिकार दिन्छ । यद्यपि, बालोगनको रेकर्डमा यो रातो कार्ड एक वर्षको ‘परीक्षण अवधि’ (प्रोबेसन) मा रहनेछ । यदि उनले अर्को एक वर्षभित्र यस्तै गल्ती गरेमा यो प्रतिबन्ध स्वतः लागू हुनेछ ।
विश्वकप फुटबलमा एउटा अप्रत्याशित र विवादास्पद घटना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष सक्रियता र ‘पर्दा पछाडिको कूटनीति’पछि फिफाले अमेरिकी स्ट्राइकर फोलारिन बालोगनमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्यो ।
फिफाको यो कदमसँगै बालोगनले सोमबार बेल्जियमविरुद्ध हुने अन्तिम १६ को महत्वपूर्ण खेल खेल्न पाउने भएका छन् । विश्वकपका खेलहरूमा भौतिक रूपमा उपस्थित नभएका राष्ट्रपति ट्रम्पले पर्दा पछाडिबाट फिफालाई दबाब दिएको चर्चा सुरु भएको छ।
आइतबार उनले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भनेका छन्, ‘सही निर्णय गरेको र एउटा ठूलो अन्यायलाई उल्टाएकोमा फिफालाई धन्यवाद ।
स्रोतका अनुसार बालोगनको रातो कार्ड खारेज गराउन ट्रम्पले बुधबारदेखि फिफाका उच्च अधिकारीहरूलाई तीनपटक फोन गरेका थिए । ह्वाइट हाउसले यसबारे आधिकारिक टिप्पणी नगरे पनि राष्ट्रपतिले यस मुद्दालाई प्रतिष्ठाको विषय बनाएको बुझिएको छ।
यसअघि फिफाले यही धारा प्रयोग गरेर पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोलाई पनि विश्वकपका सुरुवाती खेल खेल्न अनुमति दिएको थियो । रोचक कुरा के छ भने, रोनाल्डोको प्रतिबन्ध फुकुवा हुनुभन्दा एक हप्ताअघि मात्र उनी ह्वाइट हाउसमा ट्रम्पको पाहुना बनेका थिए । त्यसैले अहिले बालोगनको हकमा भएको निर्णयलाई पनि ट्रम्पको प्रभावका रूपमा हेरिएको छ ।
फिफाको यो निर्णयप्रति बेल्जियम फुटबल संघले कडा आपत्ति जनाएको छ । खेल हुनुभन्दा २४ घण्टाअघि मात्र विपक्षी टोलीको मुख्य खेलाडीलाई मैदान उतार्ने फिफाको कदमलाई बेल्जियमले ‘फेयर प्ले’ विरुद्धको कार्य भनेको छ ।
बेल्जियम फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी यो निर्णयबाट स्तब्ध छौं । यो फिफाकै नियमहरूको विरुद्धमा छ । हामी यसका विरुद्ध सबै कानुनी विकल्पहरूको खोजी गरिरहेका छौं ।’
मैदानभित्रको प्रदर्शनभन्दा पनि राजनीतिक प्रभाव र नियमको व्याख्याका कारण बालोगनको ‘रेड कार्ड’ प्रकरणले विश्वकपमा नयाँ विवाद जन्माएको छ ।
ट्रम्पको हस्तक्षेपले खेलको निष्पक्षतामाथि प्रश्न उठाएको आलोचकहरूको तर्क छ भने अमेरिकी समर्थकहरूले यसलाई ‘न्यायको जित’ भनिरहेका छन् ।
