काठमाडौं । नेपाली रिपब्लिक मिडियाकी संस्थापक शोभा ज्ञावालीले नेपालको दिगो आर्थिक विकास, सुशासन र समृद्धिको आधार ऊर्जा क्षेत्रको प्रभावकारी विकास भएको बताउँदै शून्य भ्रष्टाचार र आर्थिक सशक्तीकरणलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिएकी छन्।
बुधबार नेपाल रिपब्लिक लिमिटेडद्वारा आयोजित ‘पावर नेपाल कन्क्लेभ–२०८३’ को उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै ज्ञावालीले नेपाल विश्वकै जलस्रोतमा धनी मुलुक भएकाले ऊर्जा क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न सके देशको आर्थिक रूपान्तरण सम्भव हुने बताइन्।
उनले नेपालको जलविद्युत क्षेत्रमा हालसम्म करिब १३ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको उल्लेख गर्दै आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर र समृद्ध बनाउने दिशामा महत्वपूर्ण कोसेढुङ्गा हुने धारणा व्यक्त गरिन्।
ज्ञावालीले विद्युत उत्पादन बढाउनु मात्रै पर्याप्त नभई त्यसको अधिकतम उपयोगका लागि घरेलु उपभोग, औद्योगिकीकरण, विद्युतीय यातायात, कृषि तथा सेवा क्षेत्रसम्म ऊर्जा पहुँच विस्तार गर्दै उत्पादनदेखि उपभोगसम्मको सुदृढ र दिगो ऊर्जा प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन्।
उनले भनिन्, “३० हजार मेगावाट उत्पादनको लक्ष्य आफैंमा ऐतिहासिक उपलब्धि हो। तर उत्पादित ऊर्जालाई घरघर, उद्योग, व्यवसाय र उत्पादनमूलक क्षेत्रमा प्रभावकारी रूपमा उपयोग गर्न सकिने वातावरण निर्माण गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो। ऊर्जा खपत बढे मात्रै लगानीको प्रतिफल, रोजगारी सिर्जना, औद्योगिक विस्तार र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक परिवर्तन सम्भव हुन्छ।”
नेपाल रिपब्लिक मिडियाले ऊर्जा क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माता, लगानीकर्ता, विज्ञ, उद्यमी र सरोकारवालालाई एउटै मञ्चमा ल्याएर सार्थक संवादको थालनी गरेको उल्लेख गर्दै उनले पावर नेपाल कन्क्लेभ–२०८३ ले ऊर्जा क्षेत्रका नीतिगत तथा व्यवहारिक चुनौतीहरूको समाधान खोज्न प्रभावकारी बहस र ठोस निष्कर्ष प्रस्तुत गर्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ, भारत सरकारका पूर्व सचिव अनिल स्वरुप, ऊर्जा क्षेत्रका प्रतिष्ठित लगानीकर्ता, उद्यमी, विज्ञ तथा नीति निर्माताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
