प्राध्यापक र कर्मचारीलाई बेतलबी बिदा जोडेर पेन्सन दिने निर्णय त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हटाएको छ । त्रिविको कार्यकारी परिषद्ले बेतलबी बिदा जोडेर पेन्सन लिन नपाइने निर्णय गरेको हो । जसका कारण त्रिविका गूरुले अब बेतलबी बिदा सहितको पेन्सन लिन नपाउने भएका हुन् ।
अब बेतलबी बिदा पेस्नसमा नजोडिने परिषदले जनाएको छ ।
यसअघि बेतलबी बिदा जोडेर पेन्सन लिएको रकम फिर्ता गराउने वा नगराउने निर्णयलाई समिति बनाएर छानबिन गर्ने तयारी त्रिविको छ ।
‘त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ३२ मा असाधारण अर्थात् बेतलबी बिदाको व्यवस्था गरिएको छ । जसमा स्थायी शिक्षक वा कर्मचारीले असाधारण बिदा लिन चाहेमा कारणसहित निवेदन दिनुपर्नेछ । कारण मनासिव देखिएमा त्रिविले एक पटकमा एक वर्ष नबढाई र सेवा अवधिभरमा तीन वर्ष नबढाई असाधारण बिदा दिन सक्नेछ ।
त्रिविको नियममा असाधारण बिदामा बस्ने शिक्षक, कर्मचारीले सो अवधिभर तलब भत्तापाउने छैन । सो बिदा पाउनको लागि पाँच वर्ष स्थायी सेवा अवधि पुगेको पनि हुनुपर्नेछ । र, असाधारण बिदाको स्वीकृत कार्यकारी परिषद्ले गर्ने नियम छ ।
२०६८ मा नियम संशोधन हुनुअघि नियम ३२ मा कुनै बिदा बाँकी नरहेमा वा सम्बन्धित शिक्षक वा कर्मचारीले बेतलबी बिदा पाउन निवेदन गरेको अवस्थामा स्थायी शिक्षक वा कर्मचारीलाई सम्पूर्ण सेवा अवधिमा अधिकतम ३ वर्षको बिदा दिइने भनिएको थियो ।