विद्युतीय अपराधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी कार्यान्वयन रोक्न माग गर्दै पत्रकार दिलभूषण पाठकले उच्च अदालत,पाटनमा दिएको निवेदन पेशी चढेको छ ।
न्यायाधीश ऋषि राजभण्डारीको इजलास नम्बर ९ मा सुनुवाइ तोकिएको यो मुद्दा पेशी सूचीको क्रम संख्या ‘ढ’ मा रहेको छ । पाठकले अदालतबाट जारी पक्राउ पुर्जीमाथि निषेधाज्ञा माग गर्दै हिजो आइतबार निवेदन दर्ता गरेका थिए । निवेदनमा गृह मन्त्रालय,प्रहरी प्रधान कार्यालय र केन्द्रीय साइबर ब्यूरोलाई विपक्षी बनाइएको छ ।
अदालतले आज अन्तरिम आदेश नदिए पाठकलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुल्नेछ ।
हिल्टन होटलसँग सम्बन्धित उनले बनाएको भिडियोमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। आरजु राणाका छोरा जयवीरलाई जोडेर समाचार सम्प्रेषण गरेको आरोपमा पाठकविरुध्द उजुरी परेको थियो । साइबर ब्यूरोको मागबमोजिम काठमाडौं जिल्ला अदालतले गत जेठ २७ गते उनीविरुध्द पक्राउ पुर्जी जारी गरेको हो ।
त्यसयता पाठक सम्पर्कविहीन छन् ।