नेपाल विद्युत प्राधिकरणले विद्युतीय सेवा सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउन वितरण तथा ग्राहक सेवा लगायतलाई उच्चस्तरीय निर्देशन दिएको छ ।
वर्षायाममा देशभर नियमित, सुरक्षित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्दै ग्राहक सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले निर्देशन दिएका हुन् ।
कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा आज मंगलबार वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख, सातवटै प्रदेश कार्यालयका प्रमुख तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरूसँग उच्चस्तरीय समीक्षा तथा निर्देशन बैठक सम्पन्न भएको हो ।
उक्ता बैठकमा वर्षायामका कारण विद्युत् प्रणालीमा पर्न सक्ने प्रभाव, सेवा प्रवाहमा देखिन सक्ने चुनौती, ग्राहक गुनासो व्यवस्थापन तथा प्रदेशस्तरमा सञ्चालित आयोजना र कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो । समीक्षा पश्चात् कार्यकारी निर्देशकले सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउन आवश्यक निर्देशन दिएका हुन् ।
