माइक्रो इन्टरनेशनलद्वारा निर्माण सामग्रीबारे ज्ञान आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं, साउन ७ । निर्माण क्षेत्रमा आधुनिक प्रविधि, गुणस्तरीय सामग्री र दीर्घकालीन लगानीको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले माइक्रो इन्टरनेशनल प्रालि र बिरा फर्निचरको संयुक्त आयोजनामा राजधानीमा ‘कन्स्ट्रक्सन मटेरियलसम्बन्धी ज्ञान आदान–प्रदान कार्यक्रम’ सम्पन्न भएको छ। ललितपुर उद्योग वाणिज्य संघको सहकार्यमा पाटन औद्योगिक क्षेत्रमा रहेको बिरा मिटिङ हलमा आयोजित कार्यक्रममा संघका पदाधिकारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा माइक्रो इन्टरनेशनलका सञ्चालक विकास न्यौपानेले कम्पनीले लामो समयदेखि नेपाली बजारमा आधुनिक तथा गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिँदै विश्व बजारमा निर्माण क्षेत्र कसरी परिवर्तन भइरहेको छ र त्यसबाट नेपालले के–के सिक्न आवश्यक छ भन्ने विषयमा विस्तृत प्रस्तुति दिएका थिए। उनले प्रविधिमैत्री, दिगो र गुणस्तरीय निर्माण सामग्रीको प्रयोगले निर्माण क्षेत्रलाई थप सुरक्षित, प्रभावकारी र प्रतिस्पर्धी बनाउन सकिने उल्लेख गरे। साथै कम्पनीले नेपालमा भित्र्याएका नवीनतम निर्माण सामग्री, तिनको उपयोगिता र अन्तर्राष्ट्रिय अभ्यासबारे समेत जानकारी गराएका थिए।

त्यसैगरी, बिरा फर्निचरकी सञ्चालक अनिता श्रेष्ठले निर्माण क्षेत्रलाई केवल खर्चको विषयका रूपमा नभई दीर्घकालीन लगानीका रूपमा बुझ्नुपर्नेमा जोड दिइन्। उनले विश्व बजारको बदलिँदो प्रवृत्ति अनुरूप सोच र लगानीको शैली परिवर्तन गर्नुपर्ने बताउँदै गुणस्तरीय निर्माण सामग्रीमा गरिएको लगानीले भविष्यमा घर वा संरचना भत्काउनुपरेको अवस्थामा समेत उल्लेख्य मूल्य फिर्ता प्राप्त गर्न सकिने धारणा राखिन्। “घर बनाउनु केवल रकम खर्च गर्नु होइन, भविष्यका लागि मूल्य सिर्जना गर्ने लगानी हो,” उनले भनिन्।

कार्यक्रममा आधुनिक निर्माण सामग्रीको प्रयोग, तिनको गुणस्तर, टिकाउपन, लागत, वातावरणीय प्रभाव तथा प्रयोग विधिका विषयमा सहभागीहरूले जिज्ञासा राखेका थिए। लामो समयसम्म चलेको प्रश्नोत्तर सत्रमा संचालकले सहभागीका प्रश्नहरूको विस्तृत उत्तर दिएका थिए। साथै माइक्रो इन्टरनेशनलले बजारमा उपलब्ध गराउँदै आएका विभिन्न निर्माण सामग्रीको प्रत्यक्ष प्रदर्शन तथा प्रयोगात्मक अनुभवसमेत गराइएको थियो।

आयोजकका अनुसार यस्ता ज्ञान आदान–प्रदान कार्यक्रमले नेपालमा निर्माण क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउनुका साथै गुणस्तरीय सामग्रीप्रतिको विश्वास अभिवृद्धि गर्न, निजी क्षेत्रबीच सहकार्य विस्तार गर्न र अन्तर्राष्ट्रिय अनुभवलाई नेपाली बजारसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।