‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ भोलि मंगलबारदेखि काठमाडौँमा शुरु हुँदै

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ भोलि मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा नेपालमा उपलब्ध तथा नेपाली बजारमा प्रवेश गर्न लागेका विभिन्न ५५ ब्राण्ड तथा मोडलहरुको  सवारीसाधनकाे उपस्थिति रहनेछ । याे एक्स्पाेमा ४० वटा नयाँ सवारीसाधन लञ्च हुँदैछ ।

नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनको हिस्सा तीव्र रूपमा बढिरहेका बेला आयोजना हुन लागेको यसपटकको एक्स्पोलाई व्यवसायीहरूले नयाँ पुस्ताको मोबिलिटी प्रविधि बुझ्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन् ।

विशेषगरी विभिन्न ब्रान्डले नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेकाले एक्स्पोमा उपभोक्ताको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । आयोजक नाइमाले यसवर्ष करिब १ लाख ५० हजार अवलोकनकर्ताले एक्स्पोमा सहभागीता जनाउने अपेक्षा गरिएको बताएको छ ।

एक्स्पोमा विद्युतीय सवारीसाधनसहित यसवर्ष हाइब्रिड कारको पनि मजबुत उपस्थिति देखिनेछ । सानो आकारका सहरी विद्युतीय गाडीदेखि पारिवारिक एसयूभी, व्यावसायिक सवारीसाधन र दुई पाङग्रेसम्म एक्स्पोमा देख्न पाइनेछ । यसले नेपाली उपभोक्तालाई एउटै स्थानमा विभिन्न ब्रान्ड र प्रविधिका सवारीसाधन तुलना गर्ने अवसर दिनेछ ।

पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको माग बढ्दै जाँदा अटोमोबाइल कम्पनीहरूबीच नयाँ मोडल, बढी रेन्ज, सुरक्षा प्रविधि र प्रतिस्पर्धी मूल्यका आधारमा बजार विस्तार गर्ने होडबाजी चलिरहेको छ । नाइमा एक्स्पोमा पनि यस्तै प्रतिस्पर्धा देखिनेछ ।

यसवर्ष ५५ ब्राण्डले सहभागीता जनाउँदैछन् । साथै, ४० भन्दा बढी नयाँ लन्च (ब्राण्ड तथा मोडल) हुने नाइमाले जनाएको छ ।