नेपाली क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ।
मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
मलेसियास्थित वाइएसडी ओभल स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। यही खेलबाट सन्दीप लामिछाने एकदिवसीय फर्म्याटको कप्तानमा पुनरागमन गरे ।
। सुरुवाती ब्याटिङमा उत्रिएको बहराइनले ३६.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो। फैज अहमदले सर्वाधिक १५ रन बनाउँदा मोहम्मद वसीमले १३ रन बनाए ।
बहराइनको ब्याटिङ धराशायी बनाउन नेपालका कप्तान सन्दीप लामिछानले आफ्नो स्पेल बलिङ गर्दै १४ रन दिएर ५ विकेट लिए । त्यस्तै, ललित राजवंशीले ३ विकेट लिँदा करण केसीले २ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले २१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । यसक्रममा अर्जुन कुमालले अविजित ३६ रन बनाउँदा रोहितकुमार पौडेल १९ रनमा अविजित रहे ।
त्यसअघि आशिफ शेखले १ तथा देव खनालले १० रन बनाए ।
अब, नेपालले अर्को खेलमा भदौ १८ गते यही समयमा मलेसियासँग खेल्नेछ। १० टोली सहभागी यो प्रतियोगिता जित्न सके नेपालले एसिया कप खेल्ने अवसर पाउनेछ।
