काठमाडौं । बालेन नेतृत्वको मन्त्रिपरिषद्ले बजारमा चिनीको सहज आपूर्ति सुनिश्चित गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कुल २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न अनुमति प्रदान गरिएको हो। चिनीको आपूर्ति सहज बनाई बजारमा अभाव हुन नदिन तथा उपभोक्तालाई सहज रूपमा चिनी उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ।
निर्णयअनुसार साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत आयात हुने चिनीले बजारको माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, चिनीको आपूर्ति नियमित भएसँगै बजारमा देखिन सक्ने अभाव तथा मूल्यवृद्धिको दबाबसमेत कम हुने विश्वास गरिएको छ।
