बाटोमै सुत्केरी हुन लागेकी कमलाको स्वास्थ्यकर्मीले गरे उद्धार 

बाजुरा । बाजुरामा बाटोमै सुत्केरी हुन लागेकी २६ वर्षीया कमला बोगटीको स्वास्थ्यकर्मीको तत्परताले उद्धार गरिएको छ । खप्तडछेडेदह गाउँपालिका–४ की बोगटी माइतीघरबाट पोइलीघर जाने क्रममा बुढीगंगा नगरपालिका–६ स्थित फालासैन बजारमाथिको सडकमा अचानक प्रसव पीडामा परेकी थिइन् । बाटोमा छट्पटाइरहेकी उनलाई स्थानीयले देखेपछि बाजुरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै स्वास्थ्यकर्मी हस्त कठायत आवश्यक प्रसूति सामग्री र औषधिसहित घटनास्थलतर्फ पुगेका थिए । सोही बाटो हुँदै मार्तडी जाँदै गरेकी जिल्ला अस्पताल बाजुराकी स्वास्थ्यकर्मी निशा रोकायाले समेत घटनाबारे जानकारी पाएपछि तत्काल सहयोग गरेकी थिइन् ।

स्वास्थ्यकर्मी खडायत, रोकाया, ईश्वरी केसीलगायत स्वास्थ्यकर्मी तथा स्थानीयको सहयोगमा सडककै छेउमा आवश्यक प्रसूति सेवा प्रदान गरिएको खडायतले बताएका छन् । तत्काल प्रसूति सेवा दिइएपछि कमलाले सुरक्षित रूपमा बच्चा जन्माएकी हुन् । स्वास्थ्यकर्मीको समयमै सक्रियता र स्थानीयको सहयोगका कारण आमा र नवजात शिशु दुवैको ज्यान जोगिएको हो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको र उनीहरूलाई बाजुरा स्वास्थ्य चौकी टाँटेमा राखेर स्वास्थ्य निगरानी भइरहेको छ ।

बर्खाको समयमा सडक बिग्रिनु, भौगोलिक विकटता र स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने लामो समयका कारण बाजुराका गर्भवती महिलाले अझै पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ । समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्दा बाटोमै प्रसूति गराउनुपर्ने बाध्यता रहेको हस्त खडायतले जानकारी दिनुभयो । आपत्कालीन अवस्थामा स्वास्थ्यकर्मीको तत्परता र स्थानीयको सहयोगले यसपटक सम्भावित दुर्घटना टरे पनि दुर्गम क्षेत्रमा सुरक्षित मातृत्वका लागि सहज यातायात र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको खडायतले बताए ।