हिमालयन बैंकविरुद्ध नेपाल भ्यालुअर्स एसोसिएसनद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । धितो मूल्याङ्कनसम्बन्धी समस्या समाधानका लागि पटक–पटक गरिएको वार्ता र पत्राचारलाई बेवास्ता गरेको भन्दै नेपाल भ्यालुअर्स एसोसिएसनले हिमालयन बैंक लिमिटेडविरुद्ध दोस्रो चरणको सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सोमबार अनामनगरस्थित राष्ट्रिय प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतो, उपाध्यक्ष एवं आन्दोलन समिति संयोजक इन्जिनियर मनिष कर्ण र महासचिव इन्जिनियर अशोक सिलवालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

विज्ञप्ति वाचन गर्दै महासचिव सिलवालले हिमालयन बैंकसँग सम्बन्धित धितो मूल्याङ्कनका सम्पूर्ण कार्यहरू यसअघि नै बहिष्कार गरिएको जानकारी दिँदै माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाइने बताए ।

यस्तै, उपाध्यक्ष कर्णले संस्थामा ६ देखि ७ हजार इन्जिनियरहरू आबद्ध रहेको उल्लेख गर्दै बैंकले आफ्ना मागलाई बेवास्ता गरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिए । उनले वर्षौंदेखि मूल्याङ्कन शुल्क समायोजन नभएको भन्दै अन्य वाणिज्य बैंकसरह समान र पारदर्शी व्यवस्था लागू गर्नुपर्ने माग गरे ।

एसोसिएसनका अध्यक्ष महतोले मूल्याङ्कनकर्ताको प्रतिवेदनकै आधारमा बैंकहरूले अर्बौं ऋण लगानी गर्ने भए पनि आफ्नै कार्यक्षेत्र जोडिएको संस्थाविरुद्ध बाध्य भएर सडकमा उत्रिनुपरेको गुनासो गरे ।

एसोसिएसनका अनुसार गत साउनमा भएको छलफलमा अन्य वाणिज्य बैंकसरह एकरूप प्रतिवेदन ढाँचा, पारदर्शी द्विपक्षीय सम्झौता, सूचीकृत मूल्याङ्कनकर्तालाई आलोपालो प्रणालीमा कामको बाँडफाँट तथा वैज्ञानिक सेवा शुल्क लागू गर्न माग गरिएको थियो। तर, बैंक व्यवस्थापनले यस विषयमा कुनै सकारात्मक पहल नगरेको आरोप संस्थाको छ ।

घोषित कार्यक्रम अनुसार आगामी असोजको पहिलो सातादेखि हिमालयन बैंकसँग सम्बन्धित नयाँ तथा पुराना धितो मूल्याङ्कन, पुनःमूल्याङ्कन र प्रगति प्रतिवेदनलगायतका सबै काम अनिश्चितकालका लागि पूर्ण रूपमा बहिष्कार गरिनेछ ।

यसैगरी नेपाल राष्ट्र बैंक, नेपाल इन्जिनियरिङ परिषद् र अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत दबाब सिर्जना गर्ने र अन्य प्राविधिक संगठनहरूसँग ऐक्यबद्धता जनाउने निर्णय गरिएको छ।

त्यसैगरी पहिलो साता देशभरका मूल्याङ्कनकर्ताहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाउनेछन्। माग पूरा नभए कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयसहित देशभरका प्रमुख शाखाहरूमा शान्तिपूर्ण धर्ना दिने र केन्द्रीय कार्यालयमै रिले अनशन सुरु गर्ने चेतावनी एसोसिएसनले दिएको छ ।

आन्दोलनको निर्णयविपरीत बैंकमा लुकिछिपी मूल्याङ्कन गर्ने वा गराउने व्यक्तिको पहिचान गरी सार्वजनिक गरिने र पेसागत तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने समेत जनाइएको छ ।

संवादमार्फत समस्या समाधान गर्न आफूहरू अझै खुला रहेको स्पष्ट पार्दै एसोसिएसनले आफ्ना माग तत्काल सम्बोधन नभए आन्दोलनका कारण वित्तीय क्षेत्र र सेवाग्राहीमा पर्न जाने असुविधाको सम्पूर्ण जिम्मेवारी बैंक व्यवस्थापनले लिनुपर्ने बताएको छ ।