डा. गोपालप्रसाद तिवारी उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक नियुक्त गरेको छ । आर्थिक नीति, लगानी सुधार, सार्वजनिक-निजी साझेदारी (पीपीपी) र निजी क्षेत्र विकासका क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव हासिल गरेका तिवारीलाई महासंघले १ असोज २०८३ देखि लागू हुने गरी महानिर्देशकको जिम्मेवारी दिएको हो ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बुधबार सचिवालयमा तिवारीलाई नियुक्तिपत्र हस्तान्तरण गरे । नियुक्तिपछि अध्यक्ष श्रेष्ठले तिवारीको प्राज्ञिक क्षमता, अन्तर्राष्ट्रिय अनुभव र निजी क्षेत्रको वकालतमा हासिल गरेको व्यावहारिक दक्षताले महासंघको भूमिकालाई थप प्रभावकारी बनाउने बताए ।

श्रेष्ठले नेपालको आर्थिक संरचनाबारे तिवारीको गहिरो ज्ञान र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालासँगको अनुभव महासंघका लागि महत्वपूर्ण हुने बताए । उनका अनुसार नीतिगत पैरवीलाई प्रभावकारी बनाउने, आर्थिक सुधारका कार्यसूची कार्यान्वयनमा जोड दिने तथा नेपाली उद्यमलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन आवश्यक वातावरण निर्माण गर्ने काममा तिवारीको नेतृत्व उपयोगी हुनेछ ।

तिवारीका लागि महासंघको नेतृत्वमा यो नयाँ जिम्मेवारी भए पनि संस्था भने नयाँ होइन । उनी यसअघि नै महासंघसँग जोडिइसकेका व्यक्ति हुन् । सन् २०१८ देखि २०१९ सम्म उनले महासंघको कार्यवाहक महानिर्देशकका रूपमा सचिवालयको नेतृत्व सम्हालेका थिए । झन्डै एक दशकपछि उनी महासंघमै महानिर्देशकका रूपमा फर्किएका हुन् ।

आर्थिक नीति र निजी क्षेत्रसँग सम्बन्धित विषयमा लामो अनुभव बोकेका तिवारीले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय संस्थासम्म विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । उनले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा विश्व बैंक समूह, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतका संस्थामा कार्यकारी तथा सल्लाहकारका रूपमा काम गरेका छन् ।

पछिल्लो समय उनले यूएसएडको ‘तयार नेपाल’ परियोजनामा निजी क्षेत्र समन्वय निर्देशकका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । नेपालमा भने उनी बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महानिर्देशक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वरिष्ठ प्राविधिक विज्ञ तथा नेपाल–जर्मन उद्योग वाणिज्य संघका रणनीतिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।

तिवारीको अनुभव निजी क्षेत्र र आर्थिक नीतिमा मात्र सीमित छैन । उनी नेपाल आर्थिक संघका मानार्थ महासचिव तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष हुन् । नर्वेस्थित फिल डा. जान–यू. सान्डल इन्स्टिच्युटका सिनियर रिसर्च फेलोसमेत रहेका उनी त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरअन्तर्गत सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचारविरोधी अध्ययन विभागमा प्राध्यापनसमेत गर्दै आएका छन् ।

आर्थिक पत्रकारिताबाट व्यावसायिक यात्रा सुरु गरेका तिवारीले कान्तिपुर मिडिया ग्रुप, द हिमालयन टाइम्स र स्पेस टाइम टुडेजस्ता राष्ट्रिय सञ्चारमाध्यममा वरिष्ठ आर्थिक पत्रकारका रूपमा समेत काम गरेका थिए । पत्रकारिताबाट सुरु भएको उनको यात्रा आर्थिक नीति, अनुसन्धान, सरकारी संयन्त्र, अन्तर्राष्ट्रिय विकास संस्था र निजी क्षेत्र हुँदै महासंघको नेतृत्वसम्म पुगेको हो ।

महासंघमा तिवारीको पुनरागमनलाई निजी क्षेत्रका मुद्दालाई नीतिगत तहमा थप सशक्त रूपमा उठाउने जिम्मेवारीसँग जोडेर हेरिएको छ । लगानी वातावरण सुधार, उद्यमशीलता प्रवर्द्धन, निजी क्षेत्रमैत्री नीति निर्माण, सार्वजनिक–निजी साझेदारी र आर्थिक सुधारका विषय आगामी दिनमा महासंघका प्राथमिकतामा रहनेछन् ।

निजी क्षेत्रले लगानी र व्यवसाय विस्तारका क्रममा नीतिगत अस्थिरता, प्रक्रियागत जटिलता तथा प्रतिस्पर्धात्मक वातावरणसँग सम्बन्धित विभिन्न चुनौती सामना गरिरहेको अवस्थामा तिवारीको लामो अनुभवलाई महासंघले कसरी उपयोग गर्छ भन्ने विषय महत्वपूर्ण हुनेछ । नयाँ जिम्मेवारीसँगै उनले महासंघको नीति अनुसन्धान, सरकारसँगको संवाद र निजी क्षेत्रको संस्थागत पैरवीलाई थप परिणाममुखी बनाउने चुनौतीसमेत सामना गर्नुपर्नेछ ।