काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झिंगेदाउ २’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
चलचित्र हेर्न काठमाडौंस्थित छायाँ सेन्टर पुगेका दर्शकहरूले फिल्म मनोरञ्जनात्मकसँगै पारिवारिक तथा सामाजिक विषयमा आधारित रहेको प्रतिक्रिया दिए ।
नेपाल न्यूज बैंकको टीम हल भिजिटका क्रममा अधिकांश दर्शकले चलचित्रको कथा, कलाकारको अभिनय र मनोरञ्जनात्मक पक्ष मन परेको बताए । कतिपय दर्शकले चलचित्रको तेस्रो श्रृंखला अर्थात् ‘झिंगेदाउ ३’ समेत आउनुपर्ने प्रतिक्रिया दिए ,
एक दर्शकले ‘झिंगेदाउ २’ लाई ‘फुल अफ इन्टरटेनमेन्ट’ भन्दै पुरानो नेपाली समाजको चित्रण पनि गरिएको बताइन् । उनले केकी अधिकारी, आँचल शर्मालगायत कलाकारको अभिनय आफूलाई मन परेको प्रतिक्रिया दिइन् ।
एक दर्शकले भनिन्, ‘कथा पनि राम्रो छ । यो फस्र्टमा इन्टरटेनमेन्ट नै छ । अनि हल्का–हल्का इमोसनल पनि छ । ‘झिंगेदाउ १’ हेरेको छु । १ भन्दा त ‘२’ नै बेस्ट लाग्यो । फेरि ’३’ पनि आउनुपर्छ जस्तो लाग्छ । परिवार लिएर हेर्न आइदिनुहोला ।’
‘झिंगेदाउ’को पहिलो भाग हेरेर दोस्रो भाग हेर्न हल पुगेकी अर्की दर्शकले पहिलो र दोस्रो दुवै चलचित्र राम्रो लागेको बताइन् । उनका अनुसार दोस्रो भाग पहिलोको कथाकै निरन्तरता भएकाले दुवैलाई बराबरी रूपमा राम्रो मान्न सकिन्छ ।
अर्की दर्शकले भने चलचित्रको कथालाई विशेष रूपमा मन पराएको बताइन् । उनका अनुसार अहिलेको समाजमा वृद्ध आमाबुबा वृद्धाश्रम पुग्ने अवस्थालाई चलचित्रले उठाएको छ । यस्तो विषयमा बनेको चलचित्र अहिलेका सन्तानले हेर्नुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, अर्की दर्शकले ‘झिंगेदाउ’को पहिलो भागभन्दा दोस्रो भाग अझ राम्रो लागेको बताइन् । देवरानी–जेठानीको सम्बन्ध, हास्य तथा भावनात्मक पक्ष चलचित्रका आकर्षण भएको उनको प्रतिक्रिया थियो । उनले चलचित्रले आमाको महत्त्वबारे सन्देश दिएको बताउँदै ‘झिंगेदाउ ३’ आउनुपर्ने धारणा राखिन् ।
कलाकार उत्साहित
चलचित्रकी अभिनेत्री केकी अधिकारीले पहिलो दिनमै दर्शकको उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताइन् ।
उनले पछिल्लो समय नेपाली चलचित्रमा दर्शकले पहिलो दिनको प्रतिक्रिया हेरेर मात्र हल जाने प्रवृत्ति बढेको उल्लेख गर्दै ‘झिंगेदाउ २’प्रति आएको सकारात्मक प्रतिक्रियाले आगामी दिनमा दर्शकको संख्या अझ बढ्ने अपेक्षा व्यक्त गरिन् ।
अर्की अभिनेत्री आँचल शर्माले पहिलो भागको तुलनामा दोस्रो भाग मनोरञ्जन, भावनात्मक पक्ष र हास्यका हिसाबले अझ फरक र परिपक्व रहेको बताइन् ।
उनका अनुसार दोस्रो भागमा आफूहरू जेठानी–देवरानीको भूमिकामा पनि पहिलेभन्दा परिपक्व देखिएका छन् । करिब छ वर्षको अन्तरालपछि दोस्रो श्रृंखलामार्फत दर्शकमाझ फर्किँदा प्राप्त प्रतिक्रियाले आफूहरूलाई खुसी बनाएको उनले बताइन् ।
‘झिंगेदाउ ३’ बारे सोधिएको प्रश्नमा शर्माले दोस्रो भागलाई दर्शकले अत्यधिक साथ दिएमा निर्देशक तथा निर्माता पक्षले तेस्रो भागबारे सोच्न सक्ने बताइन् ।
महेश र कुशल पनि दर्शकको प्रतिक्रियाले खुसी
अभिनेता महेश त्रिपाठीले चलचित्रप्रति दर्शकको प्रतिक्रिया निकै राम्रो रहेको बताए । पारिवारिक द्वन्द्व, मनोरञ्जन र भावनात्मक पक्षलाई दर्शकले रुचाएको उनको भनाइ छ ।
उनले पहिलो दिन नै विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएको र दर्शकको प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए । ‘झिंगेदाउ २’ सफल हुनेमा आफू आशावादी रहेको उनको भनाइ थियो।
तेस्रो भागको सम्भावनाबारे त्रिपाठीले दर्शकको चाहना र चलचित्रप्रतिको प्रतिक्रियाका आधारमा त्यसबारे निर्णय हुनसक्ने बताए । उनले दर्शकलाई नजिकको हलमा पुगेर चलचित्र हेर्न आग्रहसमेत गरे ।
यसैगरी अभिनेता कुशल बिष्टले पनि चलचित्रको हास्य तथा भावनात्मक दृश्यमा दर्शकले उत्साहजनक प्रतिक्रिया दिएको बताए । अन्तरालमा दर्शकहरूले कलाकारलाई भेटेर फोटो खिच्नुका साथै चलचित्र राम्रो लागेको भन्दै हौसला दिएको उनले बताए ।
उनका अनुसार दर्शकहरूले परिवारका सदस्य, साथीभाइ तथा छिमेकीलाई समेत चलचित्र हेर्न बोलाउने बताएका छन् । पहिलो भागदेखि नै दोस्रो भागको प्रतीक्षा गरिरहेका दर्शकले अहिले ‘झिंगेदाउ २’ लाई पनि मन पराएको बिष्टले बताए ।
उनले चलचित्रको अन्त्यमा तेस्रो भागको सम्भावनातर्फ संकेत गरिएको भन्दै दर्शकले साथ दिए ‘झिंगेदाउ ३’ आउन सक्ने बताए ।
‘झिंगेदाउ २’ शुक्रबारदेखि देशभरका विभिन्न सिनेमा हलमा प्रदर्शनमा आएको हो । पहिलो दिन प्राप्त दर्शक प्रतिक्रियाबाट उत्साहित देखिएको निर्माण पक्षले आगामी दिनमा दर्शकको उपस्थिति अझ बढ्ने अपेक्षा गरेको छ ।
