अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ दिल्ली पुगेर प्रधानमन्त्री वालेन्द्र शाह -बालेनको भारत भ्रमणको तयारी अगाडि बढाएको खुलेको छ।
तीन दिने भ्रमण सकेर शनिबार काठमाडौँ फर्कनुअघि भारतीय पत्रकारसँग वाग्लेले यो वर्ष डिसेम्बरसम्ममा प्रधानमन्त्री शाहको भारत भ्रमण गराउने तयारी भइरहेको बताएका छन्।
भारतीय पत्रकार स्मीता शर्माले अर्थमन्त्री वाग्लेसँग गरिएको भिडिओ वार्ता सोसल मिडिया एक्समा सेयर गरेकी छन्। जसमा वाग्ले भन्छन्, ‘यस वर्ष (सन् २०२६)को अन्त्यसम्ममा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने गरी दुवै पक्ष छलफल गरिरहेका छौँ।’
वाग्लेको भनाइले उनको भारत भ्रमण अर्थमन्त्रीका हैसियतमा आर्थिक विषयमा मात्रै केन्द्रित नभइ प्रधानमन्त्री शाहको भ्रमणको तयारीकै क्रममा भएको देखिएको छ।
दिल्लीमा वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग गरेको भेटवार्ता र वित्त मन्त्री निर्मला सितारमणसँगको भेटमा पनि विदेशसचिव विक्रम मिस्री रहनुले प्रधानमन्त्री शाहको भ्रमणको तयारीको क्रममा राजनीतिक संवाद भएको देखिन्छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी अगाडि बढेको संकेत काठमाडौँमा भारतीय राजदूत नवीन श्रीवास्तवले पनि गरेका थिए। गत सोमबार भारतीय दूताबासमा केही सम्पादक र थिङ्कट्याङ्कहरूसँग भेटघाटमा राजदूत श्रीवास्तवले भनेका थिए, ‘यो वर्षको अन्तसम्ममा नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुनसक्छ, त्यसअनुसार तयारी भइरहेको छ।’
असोज १ देखि ३ गतेसम्म भारतको नयाँ दिल्लीमा रहेका अर्थमन्त्री वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि नेपाल–भारत सम्बन्ध ‘रिसेट’ गर्ने गरी संवाद अघि बढाएका छन्।
भारतकी वित्त मन्त्री निर्मला सितारमणको निमन्त्रणामा नयाँ दिल्ली पुगेका वाग्ले समकक्षीसँगको भेटपछि कुटनीतिक संवादमा केन्द्रित भएका थिए। गत बिहीबार भएको सितारमणसँगको भेटवार्तामा भारतको प्रतिनिधि मण्डलमा विदेश सचिव विक्रम मिस्री पनि सहभागी भएका थिए।
वाग्लेले वित्तपछि विदेशमन्त्रीसँग भेटवार्ता गर्नु र दुई अर्थमन्त्रीको भेटवार्तामा विदेश सचिव पनि सहभागी हुनुले उनको भ्रमण दुई देशबीचको आर्थिक सम्बन्ध सुधारमा मात्रै नभएर राजनीतिक र कुटनीतिक मामलामा केन्द्रित भएको बुझिएको थियो।
नेपालको अर्थमन्त्रीले भारत भ्रमणमा जाँदा कुटनीतिक संवादमा जोड दिनुलाई शाह सरकार र भारतको मोदी सरकारबिच संशय मेट्ने प्रयासका रूपमा हेरिएको छ। वाग्ले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमणका क्रममा दिल्ली पुगेका हुन्।
शुक्रबार अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकरबिचको भेटको मुख्य एजेण्डा नेपालमा भोटेकोसी बाढीले गरेको क्षतिको पुननिर्माण र भारत–नेपाल सम्बन्ध ‘रिसेट’ गर्ने रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
भारतको दैनिक पत्रिका द हिन्दूमा सुहासिनी हैदरले गरेको विश्लेषण अनुसार नेपालका अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भएको भेटवार्तामा यी दुई विषयलाई प्रमुख रुपमा छलफल भएको थियो।
सो भेटमा आगामी डिसेम्बरसम्ममा प्रधानमन्त्री शाहलाई भारत भ्रमण गराउने गरी छलफल भएको हैदरको रिपोर्टमा उल्लेख छ।
‘दुवै पक्ष यसै वर्षको अन्त्यतिर नेपालका प्रधानमन्त्री शाहले गर्ने दिल्ली भ्रमणको तयारीमा समेत जुटिरहेका छन्,’ रिपोर्टमा भनिएको छ।
भारतीय विदेशमन्त्री जयशंकरसँग भेट्नुअघि अर्थमन्त्री वाग्लेले भारतका वरिष्ठ कुटनीतिज्ञहरूसँग राउण्ड टेबलमा संवाद गरेका थिए। शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै बदलिँदो समयअनुसार दुई देशबीचको साझेदारीलाई थप सुदृढ बनाउन कनेक्टिभिटी विस्तार अपरिहार्य रहेको उनले बताएका थिए।
भारतका पूर्व विदेश सचिव तथा नेपालका लागि पूर्व राजदूत श्याम शरणले संयोजन गरेको सो कार्यक्रममा भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन, पूर्व उप–राष्ट्रिय सुरक्षा सल्लाहकार तथा कूटनीतिज्ञ पंकज शरण, प्रख्यात अर्थशास्त्री तथा जेएनयूका एमेरिटस प्रोफेसर एवं दिल्ली विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा दीपक नायर उक्त राउन्ड टेबलमा सहभागी थिए।
त्यसैगरी, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसनका अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टीका विदेश मामिला विभाग प्रमुख विजय चौथाइवाले, दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृति, द हिन्दूकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदरसहित नेपाली प्रतिनिधि मण्डल उक्त कूटनीतिक संवादमा सहभागी थिए।
भारत भ्रमणमा जाँदा वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने भेट्ने अवसर पाएनन्।
यसअघि रास्वपाका सभापति रवि लामिछाने गत जेठमा भारत भ्रमणमा गएका थिए। वाग्ले अहिले रास्वपामा उपसभापतिको हैसियतमा छन्।
सभापतिपछि बरिष्ठ नेताको रुपमा वालेन्द्र शाह छन्। पार्टीको शीर्ष नेतृत्वको हिसाबले पनि वाग्लेले भारतमा गरेको भ्रमणलाई सरकार र पार्टीसँगको सम्बन्ध सुधारको रुपमा हेर्न सकिन्छ।
नेपालखबरबाट साभार