काठमाडौं । काठमाडौं उपत्यकामा नियमित वर्षा हुन थालेपछि सम्भावित बाढी, डुबान तथा अन्य विपद्बाट नागरिक र बालबालिकालाई सुरक्षित राख्न काठमाडौं महानगरपालिकाले जोखिमयुक्त क्षेत्र तथा विद्यालयमा निगरानी बढाएको छ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली सक्रिय हुँदै गएपछि उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। अहिले सामान्य वर्षा भए पनि भारी वर्षामा परिणत हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै महानगरले पूर्वतयारी र प्रतिकार्यका काम अघि बढाएको हो।
सम्भावित डुबान तथा जलजमावबाट बालबालिकालाई जोगाउन जोखिमयुक्त विद्यालयको अवस्थासमेत मूल्याङ्कन गरिने भएको छ। आवश्यक देखिएमा त्यस्ता विद्यालयको पठनपाठन स्थगन गर्ने अधिकार र जिम्मेवारी शिक्षा विभागलाई दिइएको महानगरले जनाएको छ।
महानगरको विपद् व्यवस्थापन समितिमा समेत बदलिँदो मौसमबाट उत्पन्न हुन सक्ने जोखिमबारे छलफल गरी जोखिमयुक्त स्थानमा निगरानी बढाउने, आवश्यक पूर्वतयारी गर्ने तथा विपद् आइपरे तत्काल प्रतिकार्य गर्ने निर्णय गरिएको छ।
महानगरपालिकाले नागरिकलाई मौसमसम्बन्धी सूचना तथा चेतावनीमा ध्यान दिन र विशेषगरी बालबालिकाको सुरक्षामा थप सावधानी अपनाउन आग्रह गरेको छ।
