झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा आज परम्परागत एवं सांस्कृतिक पर्व इन्द्रजात्रा धुमधामका साथ मनाइएको छ ।

वसन्तपुरमा मनसुनी झरीबीच रथ यात्रा, विभिन्न सांस्कृतिक झाँकी, परम्परागत नाच प्रदर्शनी गरेर इन्द्रजात्रा मनाइएको हो ।

इन्द्रजात्राका अवसरमा कुमारी घरबाट श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा निकालिएको थियो । रथयात्रा हेर्न ठूलो संख्यामा स्थानीय, उपत्यकाका सर्वसाधारण वसन्तपुर तथा आसपासका सडकमा भेला भएका थिए । परम्परागत बाजागाजा बजाउँदै विभिन्न सांस्कृतिक समूह तथा समुदायको सहभागिता रहेको थियो।

इन्द्रजात्रामा देवप्याखँ, लाखेनाच, पुलुकिसी नाचलगायतका परम्परागत नाच तथा सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहने गरेका छन् ।

इन्द्रजात्रा काठमाडौँ उपत्यकाको प्राचीन नेवार संस्कृति, धार्मिक आस्था र सामाजिक एकताको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । जात्राका कारण वसन्तपुर, असन, इन्द्रचोक, हनुमानढोका लगायतका क्षेत्रमा विशेष चहलपहल देखिएको थियो ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसहित सरकारका मन्त्री र विशिष्ट व्यक्ति वसन्तपुर पुगेका थिए ।

राष्ट्रपति पौडेलले वसन्तपुर पुगेर गरे इन्द्रजात्राको अवलोकन