काठमाडौं । महिला सशक्तीकरण, आत्मविश्वास, उद्यमशीलता तथा सौन्दर्य क्षेत्रको योगदानलाई उजागर गर्दै ‘फेस अफ आईसीटी आइकन २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौंको बानेश्वरमा आयोजित कार्यक्रममा सौन्दर्य क्षेत्रमार्फत महिलाहरूले हासिल गरिरहेको आर्थिक आत्मनिर्भरता, रोजगारी सिर्जना र उद्यमशीलताको योगदानबारे चर्चा गरिएको थियो।
कार्यक्रममा सौन्दर्य क्षेत्र बाहिरी रूपरङ्गमा मात्र सीमित नभई व्यक्तिको आत्मविश्वास, व्यक्तित्व विकास र सामाजिक सहभागितासँग समेत जोडिएको क्षेत्र भएकोमा जोड दिइएको थियो। आफूलाई आत्मविश्वासी महसुस गर्दा व्यक्तिको कार्यक्षमता, सामाजिक व्यवहार तथा नेतृत्व क्षमतामा समेत सकारात्मक प्रभाव पर्ने सहभागीहरूको भनाइ थियो।
पछिल्लो समय नेपालमा ब्युटी पार्लर तथा सौन्दर्य व्यवसायमार्फत ठूलो संख्यामा महिलाहरू आफैं उद्यमीका रूपमा स्थापित भइरहेका छन्। आफ्नै व्यवसाय सञ्चालन गर्नुका साथै उनीहरूले अन्य महिलालाई समेत रोजगारी दिँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
सौन्दर्य क्षेत्रले नेपालमै रोजगारीका अवसर सिर्जना गर्दै वैदेशिक रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता कम गर्नसमेत योगदान पुर्याइरहेको कार्यक्रममा चर्चा गरिएको थियो। यस क्षेत्रमा महिलासँगै पुरुषहरूको समेत उल्लेख्य सहभागिता रहेको बताइएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि नेपाल रिपब्लिक मिडियाकी अध्यक्ष तथा स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवालीले महिलाको सशक्तीकरण र उद्यमशीलतालाई प्रोत्साहन गर्न सके मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
उहाँले आफ्नो क्षेत्रमा निरन्तर मेहनत गरिरहेका व्यक्ति तथा उद्यमीलाई प्रोत्साहन र सम्मान गर्ने यस्ता कार्यक्रमहरू नेपालमा अझै आवश्यक रहेको बताउँदै सहभागी सबैलाई सफलताको शुभकामना दिनुभयो।
नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने र आफ्नै सीप तथा क्षमतामार्फत अघि बढिरहेका युवालाई थप हौसला प्रदान गर्ने काम यस्ता कार्यक्रमले गर्ने उहाँको भनाइ थियो।
कार्यक्रमले सौन्दर्य क्षेत्रलाई केवल सुन्दरता प्रस्तुत गर्ने माध्यम नभई सीप, आत्मविश्वास, रोजगारी, उद्यमशीलता र महिला सशक्तीकरणको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने सन्देश दिएको छ।
