राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झालाई पूर्ण जिम्मेवारी दिएको छ ।
हिजो शनिबार बसेको केन्द्रीय समितिको बैठकले उपसभापति डा.स्वर्णिम वाग्लेको प्रस्तावमा महामन्त्रीमा बुर्लाकोटी र प्रवक्तामा झालाई नियुक्तिको निर्णय गरेको जनाइएको छ । मुकुल ढकाल पार्टीबाट बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रूपमा रहेका थिए ।
शुक्रबारमात्र निर्वाचन आयोगले आयोगको अध्यावधिक विवरणअनुसार ढकाल नै रास्वपाको महामन्त्रीका रुपमा रहेको जानकारी दिएको थियो । जबकि रवि लामिछानेको आलोचना गरेको भन्दै गत वर्ष भदौमा बसेको रास्वपा केन्द्रीय कमिटी बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको थियो ।
उक्त कारवाही विधानसम्मत नरहेको जिकिर गर्दै आएका ढकालले त्यतिबेलै आयोगलाई पत्र लेखेर विवरण अध्यावधिक नगर्न आग्रह गरेका थिए । पछिल्लो समय पार्टीमा फर्किने मनस्थितिमा रहेका उनले फेरि पत्र लेखेर केन्द्रीय सदस्यहरुको आध्यावधिक विवरण मागेका थिए । त्यसको जवाफमा आयोगले २०८० चैत २० गते अर्थात् ढकाललाई कारवाही गर्नुअघिको विवरण नै अभिलेखमा कायम रहेको प्रष्ट पारेको हो ।
पार्टीबाट निष्काशन गरिएका पात्रलाई नै आयोगले महामन्त्रीका रुपमा लिएपछि हत्तपत्त हिजो बसेको बैठकले कार्यवाहक महामन्त्री र प्रवक्तालाई पूर्ण जिम्मेवारी तोकेको हो । विगतमा यो दुवै पद ढकालले सम्हालेका थिए ।
रास्वापाले पार्टीका रिक्त विभागीय पदमा पनि मनोनयन गरेको छ । जसअनुसार प्रशिक्षण विभाग प्रमुखमा सहमहामन्त्री विपिनकुमार आचार्य, अभियान तथा प्रचारप्रसाद विभाग प्रमुखमा मनिष झा र अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक उपप्रमुखमा रविकिरण अधिकारी चयन भएका छन् ।
सहकारी ठगीमा पुर्पक्षका लागि कारागार पुगेका सभापति लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको जिकिर गर्दै आएको रास्वपाले त्यसविरुद्ध हस्ताक्षर अभियान चलाउने निर्णय पनि गरेको छ ।