नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल एचसीसीएन बिच बलियो सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौँको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापार अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै महासंघ अध्यक्ष ढकालले नेपालले आफ्नो आर्थिक कूटनीतिलाई बढाउदै विकास र सम्मृद्धिमा फड्को मार्न विश्वका महत्वपूर्ण ६६ देशका अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।ढकाल अनररी कन्सुलर कर्पस् नेपाल अवस्थाएन का डिन समेत हुनुहुन्छ ।
“सरकार र अनररी कन्सुलर कर्पस् नेपालबिच विश्वास र साझेदारीको सहकार्य आवश्यक रहेको छ । राज्यले अनररी कन्सुलर कर्पस्लाई अवैतनिक र औपचारिक दूतको रुपमा मात्र होइन आर्थिक कूटनीतिज्ञको रूपमा व्यवहार र उपयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो । ढकालका अनुसार वाणिज्यदूतहरु व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यमा पहिल्यै सक्रिय रहेका छन् र उनीहरूले सरकारको खर्च बिना आफ्नै स्रोत, समय र सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रवद्र्धन गरिरहेका छन् ।
उहाँले वाणिज्यदूतहरुलाई नेपाल र विश्व अर्थतन्त्रबीचको पुलको रूपमा उपयोग गर्न सकिने उल्लेख गर्नुभयो । त्यस्तै, भूकम्प, बाढी र अन्य संकटको बेला वाणिज्यदूतहरुले प्रतिनिधित्व गर्ने देशहरूले नेपाललाई सहयोग उल्लेख गर्दै यसले वाणिज्यदूहरुमार्फत उनीहरुले प्र्रतिनिधित्व गर्ने देशहरुसँग भविष्यमा गरिने सहकार्य अझ मजबुत बनाउन सक्ने बताउनुभयो । त्यस्तै मन्त्रालयले हालै गठन गरेको आर्थिक कूटनीति विभागको स्वागत गर्दै ढकालले यसले सरकार, अनररी कन्सुलर कर्पस् नेपाल, निजी क्षेत्र र कूटनीतिक निकायबिच अझ राम्रो समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।“आर्थिक कूटनीति केवल व्यापारमा सीमित छैन । यो रोजगार, प्रविधि, ब्राण्डिङ, पर्यटन लगायत धेरै क्षेत्रसँग जोडिएको छ,” उहाँले भन्नुभयो ।
निजी क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादनको ८१ प्रतिशतभन्दा बढी योगदान गर्ने र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्य प्रस्तुत गर्दै ढकालले निजी क्षेत्रलाई आर्थिक सहयोग चाहिएको नभई सम्मान, पहिचान र निर्णय प्रक्रियामा स्थान चाहिएको स्पष्ट गर्नुभयो ।
भारत, चीन र यूएई लगायतका मुलुकमा प्रधानमन्त्रीको भ्रमणको बेला आयोजना गरिएका व्यापार सम्मेलनहरूले लगानी र आर्थिक सहकार्यमा नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले आर्थिक कूटनीति विभागसँगको सहकार्यले आगामी दिनमा अझ धेरै, व्यवस्थित र प्रभावकारी रुपमा यस किसिमका कार्यक्रमहरु आयोजना गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।