करदाता प्रोत्साहन उपहार कार्यक्रम-लालबाबु साहले जिते १० लाख रुपैयाँ

  • Clock icon
    २०८३ आश्विन १६, शुक्रबार

सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार घोषणा गरेको छ।

आज शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पर्साका लालबाबु साह कानुलाई १० लाख रुपैयाँ राशिको बम्पर उपहार परेको घोषणा गरिएको हो।
कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा भुक्तानी गरेको कारोबार उपहारका लागि छनोट भएको हो।

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भएको छनोटबाट उनी १५ दिनको अवधिको बम्पर उपहार विजेता बनेका हुन्।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरेका हुन्।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिदमा सहभागी भई बिल लिएका उपभोक्ताका कुल ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए।

योग्य कारोबारमध्ये नगदमा कारोबार गरी बिल लिएका उपभोक्ताको संख्या २ लाख ४७ हजार ९७९ रहेको थियो। त्यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार उपहार कार्यक्रममा सहभागी भएका थिए।