नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा हारेका नेताहरूले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने भएका छन्।
कांग्रेस एउटै, बाटो दुईतिर:गगन–देउवा आमनेसामने
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गरी विधानको व्यवस्थालाई स्मरण गराएका छन्। कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि भोली आइतबारदेखि महाधिवेशन सुरु हुँदै छ भने जिल्ला र प्रदेश कार्यसमितिका लागि पछि निर्वाचन हुने भएको छ।
जसले गर्दा कांग्रेसका धेरै जसो नेता सिधै केन्द्रीय कार्यसमितिका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्। केन्द्रमा पराजित भए पनि पछि प्रदेश र जिल्लामा उम्मेदवार बन्ने उनीहरूको योजना छ।
यसैलाई ध्यानमा राखेर निर्वाचन समितिले विधानको व्यवस्था स्मरण गराएको हो। कांग्रेस विधानबारे जानकारी गराउँदै कटुवालले भनेका छन्, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) मा पार्टीको कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अबधिमा सो भन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यबस्था रहेको छ।’
यही व्यवस्थाअनुसार, केन्द्रमा हारेका नेताले जिल्ला र प्रदेशमा पनि उम्मेदवार बन्न नपाउने उनले उल्लेख गरेका छन्। ‘अतः आसन्न १५औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएको ब्यक्ति यस पश्चात हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने बेहोरा पुनः स्मरण गराइएको छ,’ निर्वाचन समितिले भनेको छ।
यससँगै महाधिवेशनमा पदेन प्रतिनिधिले पनि उम्मेदवार हुन नपाउने सदस्य सचिव कटुवालले जनाएका छन्। ‘पदेन महाधिवेशन प्रतिनिधि र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधि महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न नपाउने वैधानिक व्यबस्था रहेको स्पष्ट गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि सुरु हुँदै छ। काठमाडौंको खुलामञ्चमा उद्घाटन हुनेछ।
