अमेरिकी हमलाविरुद्ध ११ वामको मिलन

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहित ११ वटा वामपन्थी समूहले इरानमाथि इजरायली हमलाको विरोध गर्दै संयुक्त वक्तव्य निकालेका छन् ।

गत वर्ष इजरायलले प्यालेस्टाइनमा गरेको सैनिक कारवाहीको सडकमै उत्रिएर सख्त विरोध गरेका वामपन्थी दलहरुले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चासो जनाउँदै वक्तव्य जारी गरेका हुन् ।

उनीहरुले यसलाई अमेरिकी साम्राज्यवादको उक्साहटमा इरानको राष्ट्रिय स्वतन्त्रतामाथि हस्तक्षेपका रुपमा यो घटनालाई अर्थ्याएका छन् ।

यतिखेर अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको छ। त्यसबाट इरानको राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप मात्र होइन अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लङ्घन गरेको छु,वक्तव्यमा भनिएको छ, यो स्थितिमा गएराति मात्र अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ। यो गम्भीर युद्ध अपराध हो । यसको हामी निन्दा र भर्त्सना गर्दछौँ ।

अमेरिकाले विश्वयुद्ध निम्त्याउन खोजेको वाम दलको ठहरसमेत छ । यसले विश्वव्यापी युद्ध आतंकको स्थिति पैदा भएको जनाउँदै वक्तव्यमा अविलम्व युद्ध विराम गरी विश्व शान्ति कायम गर्न माग गरिएको छ ।

त्यस्तै, अमेरिकी कदमको विरोध तथा स्वाधीन राष्ट्रहरुको पक्षमा उभिन वामपन्थी दलले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । अमेरिकी र इजरायली आक्रमणको विरोधसहित स्वाधीन राष्ट्रहरुको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि अबिलम्ब पहल गर्न नेपाल सरकारसँग हामी जोडदार माग गर्दछौँ, वक्तव्यमा उल्लेख छ ।

पटक पटक सरकारको नेतृत्व गरेको र देशको तेस्रो ठूलो दल माओवादी केन्द्रका महासचिव देव गुरुङले वक्तव्यमा हस्ताक्षर गरेका छन् । एकीकृत समाजवादीले भने स्थायी समिति सदस्यलाई अघि सारेको छ । उसका लागि स्थायी समिति सदस्य बलराम बाँस्कोटाले हस्ताक्षर गरेका हुन् ।

त्यस्तै, नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव, नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको वक्तव्यमा हस्ताक्षर छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेकपा बहुमत र नेकपा नामको पार्टीका प्रतिनिधिले वक्तव्यमा सही गरेका छन् ।