पत्रकारको सुरक्षा र पेन्सनका लागि उठ्यो आवाज

काठमाडौं । जनताको आवाज राज्यका निकायसम्म पुर्‍याउने पत्रकार आफैँ भने सुरक्षा र सामाजिक सुरक्षाको चिन्तामा रहेको भन्दै सीमावर्ती क्षेत्रका पत्रकारहरूले आफ्ना अधिकार र हितका विषयमा नीतिनिर्माताको ध्यानाकर्षण गराएका छन्।

नेपाल-भारत सीमावर्ती क्षेत्रमा क्रियाशील पत्रकारहरूको साझा संगठन ‘मिडिया फर बोर्डर हार्मोनी’ ले सरैयामा आयोजना गरेको ‘हाम्रो आवाज’ कार्यक्रममा पत्रकारहरूले सुरक्षा, सम्मान, पेन्सन तथा आर्थिक सुरक्षासँग जोडिएका विभिन्न विषय उठाएका हुन्।

कार्यक्रममा मुजफ्फरपुर, वैशाली, पूर्वी चम्पारण, पश्चिमी चम्पारण, सीतामढी, शिवहर, दरभंगा, समस्तीपुर, फारबिसगञ्जलगायत विभिन्न जिल्लाबाट आएका पत्रकार सहभागी थिए। पत्रकारहरूले आफ्ना समस्या र मागलाई साझा रूपमा उठाउँदै मागपत्रसमेत प्रस्तुत गरेका थिए। संस्थाका अध्यक्ष अमरेन्द्र तिवारीका अनुसार उक्त मागपत्र ध्वनिमतबाट पारित गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पारूका विधायक शङ्कर रायले स्थानीय पत्रकारलाई सूचना संयन्त्रको वास्तविक मेरुदण्डका रूपमा चित्रण गरे। ठूलो संख्यामा स्थानीय पत्रकारले जनताका समस्या, स्थानीय घटनाक्रम तथा सरकारी योजनाबारे सूचना बाहिर ल्याउने काम गरिरहेको उनले बताए।

पत्रकारको सुरक्षा र पेन्सनसँग सम्बन्धित विषय सरकारसमक्ष पुर्‍याउनुका साथै विधानसभामा समेत प्राथमिकताका साथ उठाउने प्रयास गर्ने प्रतिबद्धता उनले जनाए। लालगञ्जका विधायक सञ्जय सिंहले पनि पत्रकारको सुरक्षा, सम्मान तथा सामाजिक-आर्थिक सुरक्षासँग जोडिएका विषयमा आवश्यक पहल गर्ने बताए।

सुरक्षा र सामाजिक सुरक्षालाई मुख्य मुद्दा

कार्यक्रममा पत्रकारहरूले ‘पत्रकार संरक्षण आयोग’ गठन गरी पत्रकारको सुरक्षा र अधिकार सुनिश्चित गर्नुपर्ने माग राखे। ग्रामीण क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकारलाई समेत मान्यता प्राप्त पत्रकारको दर्जा दिनुपर्ने उनीहरूको माग थियो।

त्यस्तै, ५८ वर्ष उमेर पार गरेका वरिष्ठ पत्रकारलाई पत्रकार पेन्सन योजनामा समावेश गर्नुपर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो। पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिएका ज्येष्ठ पत्रकारको सामाजिक सुरक्षालाई राज्यले बेवास्ता गर्न नहुने उनीहरूको भनाइ थियो।

सरकारका लोककल्याणकारी योजनाबारे पत्रकारलाई नियमित रूपमा जानकारी गराउन प्रेस क्लबलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने मागसमेत गरिएको थियो। प्रत्येक जिल्लाको प्रेस क्लबमा जिल्ला प्रशासनको तर्फबाट मासिक पत्रकार गोष्ठी आयोजना गर्नुपर्ने सुझाव पत्रकारहरूले दिएका थिए।

आकस्मिक अवस्था आइपर्दा पत्रकारलाई आर्थिक सहयोग उपलब्ध गराउन ‘पत्रकार आकस्मिक सहायता कोष’ स्थापना गर्नुपर्ने माग पनि कार्यक्रममा उठाइएको थियो।

कार्यक्रमको अध्यक्षता ‘मिडिया फर बोर्डर हार्मोनी’ मुजफ्फरपुरका जिल्ला अध्यक्ष रञ्जन कुमारले गरेका थिए भने सञ्चालन वरिष्ठ पत्रकार अमरेन्द्र तिवारीले गरेका थिए।