काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल सुरू भएको हो ।
तीन वटा क्लस्टरमा विभाजन गरेर बन्दसत्र सुरू भएको हो । पहाड, हिमाल र मधेस तराई गरी तीन क्लस्टरमा विभाजन गरी बन्द सत्र सुरू भएको हो ।
सुरूआतमा पहाडको बन्द सत्र चलेको छ । बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ । प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको हो ।
हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन् । त्यस्तै, पहाड हलमा बागमती प्रदेशका १ हजार २१७ र लुम्बिनी प्रदेशका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि सहभागी छन् ।
तराई–मधेस हलमा मधेश प्रदेशका १ हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ संगठनका २२५ प्रतिनिधि सहभागी छन् । बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेश गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
यसअघि प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको बैठकका निर्णय सार्वजनिक गर्दै विशेष महाधिवेशनबाट निर्माण भएको वर्तमान केन्द्रीय समितिको यो अन्तिम बैठक भएको बताए ।
बैठकले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषय तथा महामन्त्री प्रदीप पौडेलले पेश गरेको पार्टी सञ्चालन र विधान सम्बन्धी प्रस्तावमाथि निर्णय गरेको छ ।
सभापति थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा आगामी चार वर्षका लागि कांग्रेसको कार्यदिशा, सरकार, देशको समग्र अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्ध र दृष्टिकोणसमेत समेटिएको चालिसेले बताए । लोकतान्त्रिक संस्थालाई सबल बनाउनु आगामी दिनको प्रमुख चुनौती रहेको उल्लेख गर्दै कांग्रेसको मूल सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै भएको उनले बताए ।
कांग्रेसले आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने नीति अघि सारेको छ । नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउने अवधारणा अघि सारिएको चालिसेले बताए ।
यसबाट सक्षम नेतृत्व निर्माण तथा सुशासन प्रवद्र्धनमा सहयोग पुग्ने कांग्रेसको अपेक्षा छ । बैठकले विधान संशोधनसम्बन्धी प्रस्तावमा समेत सुझावसहितको प्रारम्भिक खाका अघि बढाएको छ ।
महामन्त्रीले पेश गरेको प्रस्तावमा पार्टीलाई कसरी सञ्चालन गर्ने, निर्णय प्रक्रिया कसरी अघि बढाउने तथा पार्टीका विभिन्न तहमा जिम्मेवारी र संरचना कसरी व्यवस्थित गर्ने भन्ने विषय समेटिएको चालिसेले जानकारी दिए ।
नयाँ विधानको प्रारम्भिक खाकामा वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्तावसमेत गरिएको छ। तर,यो अन्तिम निर्णय नभएको कांग्रेस प्रवक्ता चालिसेले स्पष्ट पारे । उनका अनुसार अहिले सार्वजनिक गरिएको संरचना प्रारम्भिक खाका मात्रै हो ।
१५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्ताव प्रस्तुत भएर प्रतिनिधिहरूले पारित गरेपछि मात्रै त्यसले अन्तिम रूप पाउनेछ ।
