पछिल्लो समय सामाजिक सञ्जालमा ‘खराने ग्याङ’ गीत चर्चित छ ।
भदौं २३ र २४ को विद्रोहकेन्द्रित ५ मीनेट ५८ सेकेण्ड लामो भिडियोमा मुलुकका प्रमुख प्रशासकीय केन्द्र जलाउने नेता, कलाकारदेखि युट्युबेहरूलाई कडा शब्दमार्फत प्रहार गरेका छन्, बिजु आचार्यले ।
सात वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका बिजु नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेका ३० वर्षीय युवा हुन् । काम गर्ने क्रममा अचानक गीतका शब्द वा विचार दिमागमा फुरेको र त्यसैलाई कागजमा टिपोट गरी मिलाएर गीत तयार पारेको बताउँछन् बिजु ।
सो गीत युट्युबमा अपेक्षाकृत नचले पनि टिकटक तथा फेसबुकमा भने व्यापक रूपमा फैलिएको पाइन्छ ।
एआई प्रविधि प्रयोग गरेर गीतमा भोकल तयार पार्दै आएका उनी ‘बालेनका दास’ शीर्षकको अर्को गीतको तयारीमा छन् । उक्त गीतमा तीन–चार अन्तरा थपिँदैछ ।
पछिल्लो गीत लेख्नुको कारणबारे बिजु भन्छन्– ‘सामाजिक सञ्जालमा सरकारको आलोचना गर्दा गाली, धम्की र आक्रमणको सामना गर्नुपर्ने अवस्था आएपछि चुप लागेर बस्नुभन्दा गीतमार्फत प्रश्न उठाउने निष्कर्षमा पुगेको हुँ । आफू कुनै दलको सदस्य नभएको स्पष्ट पार्दै अन्धभक्त भएर समर्थन मात्रै गरे नेतृत्व निरंकुश बन्ने हुँदा स्वस्थ आलोचना पनि चाहिने तर्क गर्छन् । उनिसँगको कूराकानी
अहिले टिकटक, इन्स्ट्रामा यहाँले तयार पार्नुभएको ‘खराने ग्याङ’ गीतको रिलहरू व्यापक देखिन्छ । कसरी तयार पार्नुभयो यो गीत ?
– सानैदेखि गीत लेखनमा रुची थियो । कोरियामा रहँदा देशको राजनीतिक तथा सामाजिक अवस्थालाई नियालिरहेको थिएँ । भदौं २३ र २४ गते ड्युटीमै थिएँ । देश जल्यो, प्रशासनिक भवन, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई खरानी बनाइयो । यो पीडाले तीन चार दिन राम्रोसँग सुत्न सकिँन । केही नेताले गल्ती गरेका थिए होलान् तर देशले गल्ती गरेको थिएन । नेताको गल्तीमा सच्चा नागरिकले देश र सम्पत्तिहरू जलाउने गतिविधि गर्दैन । ठीक त्यसरी नै जसरी एउटा असल सन्तानले बुबाआमालाई चोट दिँदैन ।
त्यही सन्दर्भलाई लिएर तीन महिनाअगाडि खराने ग्याङ्ग गीत तयार भयो । शब्दररचना मेरो हो तर लयचाहिँ एआइको हो । आफ्ना स्वार्थका लागि देश जलाउनेप्रति लक्ष्यित गीत हो ।
काठमाडौंको मेयर हुँदा बालेन साहले सिंहदरबार जलाउँछु भनेका थिए । जसले गर्दा सिंहदरबार भनेकै जलाउनै पर्ने चिज रहेछ भन्ने मानसपटलमा पर्यो । त्यही कारण सिंहदरबार, अदालत र संसद भवनलाई खरानी बनाइयो । त्यही सेरोफेरोमा तयार भएको हो ‘खराने ग्याङ’ ।
कस्तो प्रतिक्रिया पाइरहेको छ यो गीतले ?
– अहिले सत्तामा जो छ, आलोचना उसकै कामको हुने हो । जनताले अभिमतमार्फत सजायँ दिइसकेकाहरूको आलोचना गर्नुको तुक छैन’ । यो गीत सार्वजनिक भएपछि सामाजिक सञ्जाल र व्यक्तिगत म्यासेजमार्फत गाली तथा धम्की आइरहेका छन् । हामीले बोल्न नसकेका विषय गीतमार्फत उठान गराइदिनुभयो भन्दै समर्थन गर्नेहरूको संख्या पनि उल्लेख्य छ । सरकार सकियोस्, नासियोस् वा ढलोस् भन्ने मेरो चाहना, कामना होइन ।
बस्, बालेन सरकार सच्चियोस् । महानगरीय शैलीले देश चल्दैन भन्ने मात्रै पवित्र उद्देश्य हो ।
‘बालेनको दास’ नामक अर्को गीत पनि तयार गर्दै हुनुहुन्छ रे ! यो कस्तो गीत हो ?
– पछिल्लो समय नेतृत्वले गल्ती गर्दासमेत ताली ठोक्ने प्रवृत्ति देखियो । सामाजिक सञ्जालमा सरकारको आलोचना गर्दा गाली, धम्की र आक्रमणको सामना गर्नुपर्ने अवस्था बढ्दै गयो । सत्य कुरा बोल्दा ‘झोले’को ट्याग लगाउन थालियो । सत्य बोल्दा गाली खानुपर्छ भने तयार छु तर गलत कामको विरुद्ध सधैँ बोलिरहन्छु ।
म कुनै पनि दलको सदस्य होइन । सत्यको पक्षमा बोल्ने र लेख्ने मान्छे हुँ । अहिले सत्तामा भएकाहरू आफूलाई पढालेखा र बौद्धिक दावी गर्दछन् तर कुनै नियम, कानुन फलो गर्दैनन् ।
रास्वपा सभापति रवि लामिछाने भारत जानु अघिल्लो दिन कुनै कार्यतालिकाबिनै प्रधानमन्त्री संसदमा पुग्नुभयो, अनि रोष्ट्रममा उभिएर ‘नेपालले भारतको जमिन मिचेको छ’ भन्दा समर्थकहरूले त्यसैमा ताली ठोके, हुटिङ्ग गरे । त्यसपछि अब भारत टेबल टक गर्न आउँछ, यो त प्रधानमन्त्रीको कूटनीतिक चाल हो भन्ने अल्गोरिदम फैलाइयो ।
यसरी राष्ट्रघाती अभिव्यक्ति दिँदा समेत न त माफी मागियो न संसदको रेकर्डबाट हटाइयो । उल्टै माननीयहरू नेपालले भारतको भूमि मिचेको भन्दै आफ्नै देशविरुद्ध प्रमाण जुटाउनतिर लागे ।
विदेशमा बस्ने केही सरकार समर्थकहरूले कमालै भइरहेको छ भन्दैछन् । तपाइँलाई त्यस्तो लाग्दैन ?
– हामीले कुनै पनि विषयलाई आफ्नो आँखाबाट हेरेर विवेक, धारणा बनाउन छोडिसक्यौं । समाजिक सञ्जालमा देखिएका थोरै क्लिपका आधारमा जथाभावी लेख्न थाल्यौं । अल्गोरिदममा चल्नेहरूले क्षणमै एउटा कसैलाई भगवान बनाइदिन्छन् अनि क्षणमै राक्षस १ हिजोआज धेरै मान्छे एकोहोरो बनेको देख्छु ।
पुरानाहरू नै ठीक थिए, उनीहरूको शासन आउनुपर्छ भन्न खोजेको होइन । देश विकास, समृद्ध भए न सबै नेपालीले सुख पाउने हुन् तर यहाँ त आलोचनात्क चेत हराउँदै गयो ।
नेतृत्वबाट जान अञ्जानमा कमी कमजोरी हुन्छन् । हरेक कुरामा ताली नठोकौं । गल्ती भएको छ भने आलोचनात्मक सुझाव दिऊँ । दुई तिहाई मतको सदुपयोग होस् भन्ने हाम्रो चाहना हो । कुनै समय सरकार मलाई बोल्न दे भन्ने बालेन सरकारले आफूविरुद्ध बोल्नेहरूलाई एक पछि अर्को गरी थुन्दै छ । यो ठीक भएन ।
कोरियामा बसेर नक्कली फेसबुक एकाउण्ट खोल्दै जथाभावी लेख्नेहरू कत्तिको पाउनुभएको छ ?
– फेक आइडी बनाउनेहरू उति छैनन् । अहिले म जुन कम्पनीमा कार्यरत छु, यहाँ वर्तमान सत्ताका कट्टर समर्थक धेरै छन् तर संसारै एकातिर भए पनि मलाई जे सत्य र ठीक हो भन्ने लाग्छ, त्यतै लाग्ने हुँ । सरकारको वाहवाही गाउनेहरू प्रशस्त छन् तर चेक एण्ड व्यालेन्स गराउनेहरूको कमी छ ।
गल्ती नै गरेको भए पनि देखेको नदेखेझैं गर्नुपर्ने बाध्यता छ । सरकारविरुद्ध बोल्दा गालीको बर्षा हुने भएका कारण कसैले खुलेर विरोध गर्न सकेका छैनन् ।
फरक विचार राख्दा बहिष्कृत हुनुपरेका घटना पनि छन् कि ?
– पोडकाष्ट चलाउने विश्व लिम्बु हालै कोरिया आउँदा माटो समर्थक भनेर एउटा कार्यक्रममै बहिष्कार गरियो । उहाँ उद्घोषक हुनुहुन्थ्यो, सत्ता समर्थकहरूले उहाँविरुद्ध बहिष्कार अभियानै चलाए । उहाँ खुलेर कुनै दलमा लागेको पनि होइन । यसरी नेपाली नेपालीबीच नै राजनीतिक आस्था र विचारका आधारमा विभेद शुरु भएको छ ।
विदेशमा हुँदा त सबैभन्दा पहिला हामी नेपाली हौं भन्ने धारणा बन्नुपर्ने हो तर यहाँ त घण्टी–माटो, पुराना पार्टी र नयाँ पार्टी भन्ने कित्ताकाट छ । यस अगाडि यस्तो कहिल्यै भोगिएको, देखिएको थिएन ।
फागुन २१ को निर्वाचनमा कोरियाहरूले नेपाल बस्ने बाबु आमा, आफन्तहरूलाई घण्टीमा भोट हाल्न भनेर दबाब दिएको पाउनुभयो कि भएन ?
– त्यस्ता त धेरै देखिए, भेटिए तर अन्ध समर्थकबाहेकलाई सरकारको ६ महिनाको काम हेरेपछि गल्ती गरिएछ भन्ने महसुस हुन थालेको पाइन्छ । उता घण्टीका अन्ध समर्थकहरू भने सरकारले जति ठूला गल्ती गरे पनि मीठै मान्नुहुन्छ ।
रास्वपाको चुनावी वाचापत्रमा तुरुन्तै युवाहरूलाई स्वदेश फर्काउने भनिएको थियो । कोरियाबाट कति नेपाली फर्काइए त यसबीच ?
– मान्छेहरूको दिमागमा निराशा छिराइएको छ । ३५ वर्षमा केही पनि हुँदै भएन भन्ने भाष्य निर्माण गरिएको छ । यो बीचमा केही हुँदै नभएको हो त रु जति हुनुपर्ने त्यो पर्याप्त नभएको पक्का हो । हरेक १०र१० वर्षमा अनेकन क्रान्ति, त्यहीमाथि अनेकन प्राकृतिक बितण्डा भोगिरहेका छौं हामीले ।
यही बीचमा जनआन्दोलन, मधेश आन्दोलन, भूकम्प, कोरोना, नाकाबन्दी, जेनजी विद्रोह, बाढीपहिरोको बितण्डा भोगेका छौं । आफ्ना हरेक काण्डको ढाकछोप गर्न अरुमाथि अरिङ्गालझैं खटिने प्रवृत्ति घातक बन्दै गएको छ । पुराना दलहरू प्रोपोगण्डा वारमा पछाडि परे ।
नयाँ प्रविधिलाई आत्मसात गर्न सकेनन् । त्यही कारण इन्टरनेटका पहुँच भएका जिल्लामा रास्वपाले चुनाव जित्दा कर्णालीका हुम्ला, बझाङ, बाजुरालगायत जिल्लामा पुराना दलले जिते । पुराना दलहरूमा हामीले जे गरे पनि हुन्छ भन्ने घमण्ड यसपटक तोडिएको छ ।
वैदेशिक रोजगारीका लागि कोरिया आउने नेपालीको संख्या घटेको छ वा बढेको छ ?
– सकेसम्म भिसा चेञ्ज गरेर बस्ने सिष्टम छ, नेपाल फर्कन मन नै गर्दैनन् । पाँच वर्ष बस्छन्, फेरि कमिटेडमा आउँछन्, १० वर्षे म्याद हुन्छ । त्यो सकिएपछि इ– सेभेन भिसा चेञ्ज गरेर बस्नेहरू छन् । बाध्यताका कारण वा रोगले च्यापेर बिरामी भएपछि फर्कने हुन् ।
अन्यथा १० वर्षभन्दा बढी बस्ने बढेका छन् । मेरो भिसा सकिन लाग्यो, अहिले नै स्वदेश फर्किऊँ भन्ने अवस्था छैन । मास डिप्रेसन बढ्दो छ । तर प्रधानमन्त्री अहिले पनि महानगरीय शैलीमा देश चलाउन खोजिरहनुभएको छ । महानगरको टिमबाट उहाँ टाढा हुनैपर्छ । उहाँको सल्लाहकार टिम भनेकै अन्टसन्ट गर्ने टिम हो । यस्तो शैलीले यो देश बन्दैन । उहाँले विज्ञ टिमको साथ लिनुपर्छ ।
देश नबनोस् भन्ने त सच्चा नेपालीलाई लाग्दैन । कलाकारजस्तो व्यवहार गर्ने होइन नि प्रधानमन्त्रीले १ प्रधानमन्त्रीले लुकेर क्रेज बनाउने होइन, कामले इज्जत बढाउने हो ।
प्रधानमन्त्रीको हालै संयुक्त राष्ट्रसंघको भाषणलाई धेरैले वाहवाही गरिरहँदा त्यसप्रति पनि तीतो पोख्नुभयो । केमा हो चित्त दुखाइ ?
– मैले व्यंग्यात्मक रूपमा लेखेको हुँ । प्रधानमन्त्रीको भ्रमणलाई कतिपयले राजा महेन्द्रसँग तुलना गरेको फिटिक्कै चित्त बुझेन । यो राजकीय भ्रमण पनि होइन । संयुक्त राष्ट्रसंघको भेलामा पिकनिक खान गएको जस्तो मात्रै हो । बालेन प्रधानमन्त्री बनेको ६ महिना बित्यो, यो बीचमा जनताले चाहेजस्तो के भयो रु पछिल्लो समय आत्महत्या बढिरहेको छ । नयाँ सरकारले जनतामा आशा भरोसा दिलाउनुपर्ने हो ।
हामी छौं, हामी गर्दैछौं हतास नहुनु, निराश नहुनु भनेर आशा दिलाउन सक्नुपर्ने हो तर पुराना खत्तम थिए भनेर गाली गर्ने नयाँले समेत केही गर्न सकेनन् ।
जनआस्थाबाट साभार