काठमाडौं । नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको बजार विस्तार भइरहेका बेला १६ सिट क्षमताको प्रिमियम विद्युतीय मिनिबस MAXUS eDELIVER5 सार्वजनिक गरिएको छ। हिमालय अर्गनाइजेसनअन्तर्गत MAXUS को आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोट्रोक्स प्रालिले आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत उक्त मिनिबस नेपाली बजारमा भित्र्याएको हो।
कम्पनीका अनुसार मिनिबसको मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। विशेषगरी होटल, रिसोर्ट, पर्यटन तथा आतिथ्य सेवा र व्यावसायिक यात्रुवाहक यातायात सञ्चालन गर्ने व्यवसायीलाई लक्षित गरी यो सवारीसाधन बजारमा ल्याइएको हो।
हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, निर्देशक आकाश गोल्छा र प्रबन्ध निर्देशक सौरभ थापाले संयुक्त रूपमा मिनिबस सार्वजनिक गरेका थिए। कार्यक्रममा अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीको पनि उपस्थिति थियो।

एकपटक चार्ज गर्दा ४०० किलोमिटरसम्मको रेन्ज
MAXUS eDELIVER5 मा ६४ किलोवाट आवर क्षमताको CATL ब्याट्री जडान गरिएको छ। कम्पनीले उपलब्ध गराएको विवरणअनुसार NEDC परीक्षण मापदण्डमा यसले एकपटक पूर्ण चार्ज गर्दा ४०० किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसमा अधिकतम १२० किलोवाट पावर र २४० न्यूटन मिटर टर्क उत्पादन गर्ने क्षमता छ।
मिनिबसमा ७० किलोवाट क्षमतासम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यस प्रविधिको सहायताले ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३६ मिनेट लाग्ने कम्पनीले जनाएको छ।
१२.३ इन्चको टचस्क्रिनदेखि आधुनिक सुरक्षा प्रविधिसम्म
मिनिबसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली राखिएको छ। उक्त प्रणालीले ब्लुटुथ, यूएसबी, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ। चार तहमा समायोजन गर्न मिल्ने स्टेयरिङ, आधुनिक ककपिट तथा स्टेयरिङमै उपलब्ध नियन्त्रण सुविधाले यात्रालाई थप सहज बनाउने कम्पनीको भनाइ छ।
सुरक्षाका दृष्टिले यसमा ३६० डिग्री अराउन्ड-भ्यु क्यामेरा, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, एड्याप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, इमर्जेन्सी लेन किपिङ र चालकको अवस्था निगरानी गर्ने प्रणाली समावेश छन्।
त्यसैगरी चालक तथा अगाडिको यात्रुका लागि एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम उपलब्ध छन्। २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एलोय ह्विलसमेत रहेको कम्पनीले जनाएको छ।

ब्याट्रीमा आठ वर्षको वारेन्टी
विद्युतीय व्यावसायिक सवारीसाधनप्रति व्यवसायीको विश्वास बढाउने उद्देश्यले कम्पनीले ब्याट्रीमा आठ वर्ष र मोटरमा पाँच वर्षको वारेन्टी उपलब्ध गराएको जनाएको छ।
चीनमा उत्पादन हुने MAXUS सवारीसाधन विश्वप्रसिद्ध एसएआईसी (SAIC) ग्रुपअन्तर्गतको MAXUS ब्रान्डका हुन्। नेपालमा उपलब्ध प्रतिस्पर्धी सवारीसाधनको तुलनामा सुविधासम्पन्न हुनुका साथै मूल्यसमेत कम रहेको कम्पनीको दाबी छ।

पर्यटन र सार्वजनिक यातायातमा उपयोगी हुने अपेक्षा
नेपालमा पर्यटन व्यवसाय, होटल तथा रिसोर्टका पाहुना ओसारपसार र व्यावसायिक यात्रुवाहक सेवामा विद्युतीय सवारीसाधनको प्रयोग बढाउने सम्भावना MAXUS eDELIVER5 ले बोकेको छ। परम्परागत इन्धनमा आधारित सवारीसाधनको विकल्प खोजिरहेका व्यवसायीका लागि यो नयाँ विकल्प हुन सक्ने देखिन्छ।
यसअघि हिमालय मोट्रोक्सले MAXUS eTerron9 विद्युतीय पिकअप पनि नेपाली बजारमा ल्याएको थियो। कम्पनीका अनुसार उक्त पिकअपले पनि बजारमा आकर्षण बढाउँदै गएको छ। MAXUS को शोरुम काठमाडौंको हात्तीसारमा रहेको छ। हिमालय अर्गनाइजेसनले आधुनिक सवारीसाधनको बिक्रीसँगै बिक्रीपछिको सेवा पनि नेपालभर विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।
