थारू समुदायको दशैं : सेतो टीका, मौलिक परम्परा र सखिया नाचको रौनक

थारू समुदायमा दशैं मनाउने आफ्नै मौलिक परम्परा र सांस्कृतिक अभ्यासहरु छन्। सप्तमीदेखि टीकाको दिनसम्म विभिन्न विधि र परम्पराअनुसार दशैं मनाउने थारू समुदायमा सेतो टीका लगाउने, ढिक्री चढाउने, गुरुवा र गाउँका अगुवाबाट टीका थाप्ने तथा पितृहरूलाई सम्झिने चलन छ ।

तर आधुनिकताको प्रभावसँगै समुदायका मौलिक नाच, गीत र सांस्कृतिक अभ्यास हराउँदै गएकोमा चिन्ता बढ्न थालेको छ ।

थारू समुदायको दसैँ तीन–चार दिनमै सीमित हुने र यसको आफ्नै सांस्कृतिक विशेषता रहेको छ।

थारू समुदायमा सप्तमीको दिनलाई ‘झोलझरना’ भनिन्छ। यस दिन घर लिपपोत गर्ने, सरसफाइ गर्ने र माकुराले लगाएका जाला हटाउने चलन छ।

अष्टमीका दिन भने विशेष प्रकारको ढिक्री बनाएर देवतालाई चढाइन्छ। चामलको पिठोबाट बाफमा पकाएर बनाइने ऊक्त ढित्रीको आकार थोसियाजस्तो देखिन्छ।

,‘अष्टमीको दिन विशेष किसिमको ढिक्री खाने परम्परा छ। त्यो देउतालाई चढाउनुपर्छ। नेवारहरूको योमरीजस्तै हुन्छ, तर दसैँमा चाहिँ थोसियाको आकारको गहनाजस्तो ढिक्री हुन्छ ।’

त्यस्तै, नवमीलाई थारू समुदायमा ‘मुर्गा पुजलक दिन’ भनिन्छ। यस दिन बलि दिने परम्परासँगै पितृहरूलाई सम्झिने चलन पनि छ। महिलाहरू घरमा सरसफाइ गर्दा निस्किएका केही सामग्री र रक्सी लिएर नदीमा सेलाउन जाने गरेको चलन छ।

सेतो टीका र शरीरका विभिन्न भागमा लगाउने परम्परा

थारू समुदायको दशैंको अर्को विशेषता सेतो टीका हो । अन्य समुदायमा रातो टीका लगाउने प्रचलन बढी भए पनि थारू समुदायमा चामल वा पिठोमा पानी मिसाएर रङ नहाली बनाइएको सेतो टीका लगाउने परम्परा रहेको छ।

अहिले अन्य समुदायको देखासिकीमा रातो टीका लगाउने चलन पनि बढेको छ।

थारू समुदायमा टीका निधारमा मात्रै नभई शरीरका विभिन्न भागमा लगाउने चलनसमेत छ। काँध, घुँडा र खुट्टाका दुवै बुढीऔँलामा टीका लगाइन्छ।

,‘टीका भनेपछि निधारमा मात्रै होइन, शरीरभरि अलिकति लतपतिएन भने टीकाको फिलिङ आउँदैन भन्ने छ । टीकाको स्पर्श निधारले मात्रै होइन पूरै शरीरले लिन पाउनुपर्छ अनि बल्ल टीकाको महत्त्व हुन्छ भन्ने देखिन्छ।’

टीकाका दिन गाउँको गुरुवा र अगुवा अर्थात् महतावा वा बरघरबाट पनि टीका थाप्ने परम्परा छ । घरका सदस्यले रक्सीको छाँकी, बाबरी फूल र जमरा लिएर गुरुवाको घरमा जाने र टीका थाप्ने चलन रहेको छ । गाउँलाई व्यवस्थित र सुन्दर बनाउन योगदान गर्ने अगुवाबाट पनि आशीर्वादस्वरूप टीका थाप्ने गरिन्छ ।

त्यस्तै, वर्ष विवाह गरेका नवदुलहाले ससुरालीमा टीका थाप्न जाँदा हातेपङ्खा, भाले, गुन्द्रीलगायतका सामग्री लैजाने परम्परालाई ‘जेवँरा लगैलक’ भनिन्छ।

सखिया नाच र मौलिक गीत हराउँदै गएकोमा चिन्ता

सर्वहारीले थारू समुदायको दशैंमा गाइने गीत र नाचको सांस्कृतिक महत्त्वसमेत छ । दशैंका अवसरमा नाचिने सखिया नाच र परम्परागत गीतहरू पछिल्लो समय हराउँदै गएका छन्।

आधुनिक डिस्को नाच र नयाँ प्रकारका बाजाको प्रभावले मौलिक सांस्कृतिक अभ्यास ओझेलमा परेको छ।

‘आधुनिकता आफ्नो ठाउँमा छ, तर सकेसम्म बुढापाकाहरूबाट दशैंमा गाइने राग–हुर सिक्ने प्रयास गर्नुपर्छ । बुढाहरूको लयमा लय मिलाउनुपर्छ,’ ।

थारू समुदायमा महाभारतको कथामा आधारित ‘बर्किमार’ गीत गाउने परम्परा रहेकोले नयाँ पुस्तामा यस्ता गीत सिक्ने र गाउने अभ्यास घट्दै गएको छ।

थारू समुदायका मौलिक गीतमा आफ्नै दर्शन र जीवनशैली अभिव्यक्त हुने भएकाले तिनको संरक्षण आवश्यक रहेको छ।

दशैंको सांस्कृतिक पक्षलाई साहित्यमा उतार्न पनि आग्रहको विकल्प छैन ।

पुर्खाहरूले कसरी मनाउँथे, चाडपर्वका अवसरमा गाउँलाई सुन्दर बनाउन कस्ता रचनात्मक काम गर्थे र समुदायमा कस्ता परम्परा थिए भन्ने विषयमा अध्ययन गर्नुपर्ने छ।

दशैंका नाममा गरिने कार्यक्रमलाई पनि अध्ययनमूलक बनाउनुपर्ने हुन्छ। चाडपर्वको सतही व्याख्या गर्नुभन्दा सम्बन्धित संस्कृतिका जानकारबाट मौलिक परम्परा, इतिहास र महत्त्वबारे जानकारी लिन सके नयाँ पुस्ताले आफ्नो संस्कृति बुझ्न मद्दत पुग्ने छ।

सर्वहारीले दशैंका अवसरमा बढ्दो ‘बियर संस्कृति’प्रति पनि चिन्ताको विषय हो । थारू समुदायमा देवतालाई स्थानीय रक्सी चढाउने परम्परा रहेको छ । प्रसादका रूपमा थोरै ग्रहण गर्ने सांस्कृतिक अभ्यास र अत्यधिक मदिरा सेवनबीच भिन्नता रहेको छ।

‘देउतालाई नै रक्सीको धार दिन्छौँ। तर त्यो स्थानीय रक्सी देवताको प्रसादका रूपमा थोरै खानुपर्छ । एक प्याक लिएर रमाउँदा केही हुँदैन,’ ।

चाडपर्वका बेला मदिरा सेवन गरेर सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसतर्फ सचेत रहन आवश्यक छ।

त्यस्तै, चाडपर्वको बहानामा अपरिपक्व उमेरमै जोडी छान्ने तथा अन्य जोखिमपूर्ण व्यवहारलाई निरुत्साहित गर्न किशोरकिशोरी शिक्षामा जोड दिनुपर्ने छ।

दशैंमा मासु तथा अन्य परिकार आवश्यकताभन्दा बढी खाने बानीले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले खानपानमा पनि संयम अपनाउनुपर्ने हुन्छ।

दशैं केवल टीका, जमरा र भोजभतेरमा सीमित हुनुहुँदैन। पुर्खाबाट हस्तान्तरण भएका मौलिक परम्परा, गीत, नाच र जीवनदर्शनको संरक्षण गर्दै जिम्मेवार रूपमा चाडपर्व मनाउन सके दशैंको सांस्कृतिक महत्त्व अझ बढ्न सक्छ।

 

लेखक साहित्यकार कृष्णराज सर्वहारी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य हुन् ।