उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने

  • Clock icon
    २०८३ कार्तिक १०, सोमबार

नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिता आज कात्तिक ९ देखि मंसिर ५ गतेसम्म ९अक्टोबर २६ देखि नोभेम्बर २१० कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन् । खेल सोमबार बेलुकी ५ बजेपछि सुरु हुनेछ ।

भोली मंगलबारदेखि भने एकै दिन दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल बेलुकी ५ बजे सुरु हुनेछ ।

एक खेल मात्र हुने दिन पनि खेल बेलुकी ५ बजेपछि सुरु हुने तालिका छ ।

प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज सहभागी हुनेछन् । यी आठ टोलीले लिग चरणमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

तेस्रो संस्करणको एनपीएल यसअघिका संस्करणभन्दा केही फरक र विशेष हुने अपेक्षा गरिएको छ । यसपटक खेलमा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्रतियोगिताले मान्यता पाउनु र विदेशी खेलाडीको सहभागिताले पनि यस संस्करणलाई थप आकर्षक बनाएको छ ।

डीआरएस, आईसीसीको मान्यता, विदेशी खेलाडीको सहभागिता र पुरस्कार रकममा भएको वृद्धिका कारण यसपटकको प्रतियोगितालाई विशेष चासोका साथ हेरिएको छ ।