सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनामा प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ ।
प्रधानमन्त्रीको सचिवालयले यसमा प्रधानमन्त्री कार्यालयको संलग्नता र पूर्वजानकारी नभएको दाबी गरेको छ ।
तर, नेपाल प्रहरीले भने प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीलाई सत्यता बुझ्न बोलाइएको दाबी गरेको छ ।
प्रहरी प्रवक्ताको ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक गरिएको वक्तव्यमा समाचारको विषयमा प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको उल्लेख छ ।
सही मनसायले त्यसरी सञ्चारकर्मीलाई बोलाइएको प्रहरीको दाबी छ ।
यस्तो छ प्रहरीको वक्तव्य–
हालका दिनहरूमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा निरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो। यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ। राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ ।
