आज नोभेम्बर ९: विश्व स्वतन्त्रता दिवस

  • Clock icon
    २०८३ कार्तिक २३, सोमबार

हरेक वर्ष नोभेम्बर ९ तारिखका दिन संयुक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाउने गरिन्छ।

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज.डब्ल्यु. बुशले जर्मनीको बर्लिनमा रहेको पूर्वी र पश्चिमी बर्लिनलाई विभाजन गर्ने पर्खाल भत्किएको र मध्य तथा पूर्वी युरोपमा कम्युनिस्ट शासनको औपचारिक अन्त्य भएको उपलक्ष्यमा सन् २००१ मा सोही दिन अर्थात् नोभेम्बर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन्।

सन् २००१ मा विश्व स्वतन्त्रता दिवस घोषणा गर्ने क्रममा राष्ट्रपति बुशले भनेका थिए “सन् १९८९ नोभेम्बर ९ मा बर्लिनको पर्खाल भत्किनु शीतयुद्धको एउटा निर्णायक मोड र अत्याचारमाथि स्वतन्त्रताको विजयको महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा रहेको छ।

यो पर्खाल स्वतन्त्र मानिसहरू र तानाशाही शासनअन्तर्गत बाँचिरहेका मानिसहरूबीचको विभाजनको एउटा कठोर प्रतीक थियो।

पूर्वी जर्मनी र अन्य दमनकारी शासनहरूमा स्वतन्त्रताका लागि सङ्घर्ष गर्नेहरूको भावना र दृढतालाई हामी सम्मान गर्छौं। बर्लिनको पर्खालको पतनपछि, धेरै मुलुकले निर्वाचन प्रक्रियामार्फत आफ्ना नागरिकहरूबाट सिर्जित राजनीतिक दबाबका कारण वा आन्तरिक तथा क्षेत्रीय द्वन्द्वहरूको समाधानमार्फत स्वतन्त्रता प्राप्त गरेका छन्।”

शीतयुद्धको अन्त्य
विश्वमा शीतयुद्धको अन्त्य गर्दै सोभियत युनियनलाई धराशायी पार्न ठूलो भूमिका निर्वाह गर्ने अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको पनि आजको दिन अमेरिकामा चर्चा हुने गर्दछ।

अमेरिकीहरूले विशेष जोड दिएर आजको दिनलाई विश्व स्वतन्त्रता दिवसका रूपमा मनाए पनि विश्वका अन्य राष्ट्रहरू, विशेषत: युरोपेली राष्ट्रहरू भने आजको यस दिनलाई विश्व स्वतन्त्रता दिवसका रूपमा मनाउन उदासीन देखिन्छन्। शीतयुद्धकालदेखि नै संसारमा पुँजीवादी, कम्युनिस्ट र केही समाजवादी देशहरूमा वैचारिक, कार्यगत अनि प्रणालीगत विवाद रहिआएको छ।

नयाँ विश्वव्यापीकरण (न्यु ग्लोबलाइजेसन) अनि नयाँ राष्ट्रवाद (न्युनेसनलिज्म) को विचारअनुसार सम्पूर्ण विश्वका बासिन्दालाई एउटै पहिचान अनि विश्वबन्धुत्वको दर्शनभित्र फराकिलो दायरामा राखिएको छ।

चाहे हामी कम्युनिस्ट विचारधाराका होऔँ, पुँजीवादी विचारधाराका होऔँ या अन्य कुनै विचारधाराका, स्वतन्त्रताको प्रत्याभूति अनि स्वतन्त्र जीवनयापनको महत्त्व मानव समुदायमा अति नै महत्त्वपूर्ण छ।

नेपालमा स्वतन्त्रता

नेपालमा पनि क्रमश: वि.सं. २००७, २०४६ अनि २०६३ गर्दै विभिन्न चरणमा स्वतन्त्रताका नयाँ-नयाँ आयामहरू थपिँदै गएका छन्। स्वतन्त्रताको परिधिभित्र सहज जीवनयापन गर्न पाउने अधिकार पनि पर्दछ।

बाटोमा हुने अत्यधिक सवारी जामदेखि ग्यास अनि तेलको लाइन, मूल्यवृद्धि, भ्रष्टाचार अनि कानुनी राज्यको कमी नेपाली समाजका स्वतन्त्रतासम्बन्धी समस्याहरू हुन्। यी समस्याहरूलाई हामी कुनै न कुनै रूपमा हरेक दिन भोग्दै आएका छौँ।

आशा छ, नेपाली स्वतन्त्रताको परिभाषामा नेपालीहरूको सहज र पारदर्शी जीवनयापन पनि छिट्टै अटाउनेछ।