आज किजा पूजा

  • Clock icon
    २०८३ कार्तिक २५, बुधबार

विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवा: समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह: पूजा र किजा पूजा भनी भाइटीका मनाउँदै आएका छन्।

तीन दिनसम्म लगातार रूपमा मनाउँदै आएको कारणले नै स्वन्ति नख: भनिएको हो। नेवास् भाषामा स्वन्हु भनेको तीन दिन र नख: भनेको चाडपर्व हो।

कृषिप्रधान नेवा: समुदायमा तीन दिनको यो चाड स्वन्ति नख:मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरिको हिसाबकिताब सम्पन्न गर्ने अर्थात् साल तमाम गर्नुका साथै आफ्नो शरीरलाई पूजा गरी नयाँ वर्षका लागि सङ्घर्ष गर्दै अगाडि बढ्न आवश्यक पौष्टिकता ग्रहण गर्ने पर्वका रूपमा लिएको पाइन्छ।

यस दिनमा म्ह: पूजाकै दिनमा जस्तै तयार गरी मण्डप लेख्ने गरिन्छ। बिमिरोदेखि सबै प्रकारका फलफूलसमेत मण्डपमा राख्ने गरिन्छ। नेवास् समुदायमा भने पञ्चरङ्गी टीका नभई अक्षता, अबिर, दही, चिउरा र पानी राखेको रातो टीका लगाइन्छ, जसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ। नेवार समुदायमा म्ह: पूजाकै दिनमा जस्तै पूजा गरेपछि पञ्चतत्त्वको सगुन दिने र आफ्नो भाइको दीर्घायुको कामना गर्ने गरिन्छ।

हरेक मानिसभित्रको देउता अनि दिदीबहिनीबीचको आत्मीयताका लागि नेवास् समुदायमा तिहार प्रसिद्ध छ।

काग, कुकुर, गाई, गोरु अनि देउसीभैलोका आशीर्वाद हामीलाई लागून्, वर्षभरि खुसीका प्रकाशहरू आँगनमा फैलिरहून् अनि माया, प्रेम र सद्भाव गहिरिँदै जाऊन्।