जनकपुरमाथि विराटनगरको जित

आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ।

आज मंगलबारको पहिलो खेलमा विराटनगरले जनकपुरमाथि २ रनको रोमाञ्चक जित हात पारेको हो।

जितसँगै विराटनगर अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। २ खेलमा जित र २ खेलमा हार भोगेको विराटनगर ४ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लेको हो।

विराटनगरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन मात्र बनाउन सक्यो। एनपीएलको आजको पहिलो खेलमा ४ अर्धशतक प्रहार भए।

चौथो विकेटका लागि विशाल सुस्लिङ र सैफ हसनले ७६ रनको साझेदारी गर्दै इनिङ्स उकासे।

३० बलमा २ चौका र ३ छक्का सहयोगमा ४३ रन बनाएका विशाल एंगेलो म्याथुजको बलमा बसिर अहमदको हातबाट क्याच आउट भए। पाचौँ विकेटका लागि हसन र जिम्मी निसमले ५६ रनको साझेदारी गर्दै जित उन्मुख भएपनि टोलीको हार टार्न सकेनन्।

निसम १५ बलमा ३ छक्का सहयोगमा २७ रन बनाउँदा रुपेश सिंहको बलमा क्याच आउट भए। निसमलाई आउट गरेपछि विराटनगर खेलमा फर्किएको थियो।

ओपनर मइन अली १० रनमा क्याच आउट भए। तृतराज दास ६ र अनिल शाह शुन्य रनमा नै पेभेलियन फर्के।

विराटनगरका लागि आन्द्रे रसेलले ४ विकेट लिए। म्याथुसले २ तथा रुपेश सिंहले १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७४ रनको योगफल तयार पारेको थियो।

विराटनगरका लागि ३ ब्याटरले अर्धशतक पूरा गरे। एनपीएलको एकै इनिङ्समा ३ ब्याटरले अर्धशतक पूरा गरेको यो पहिलो खेल हो।

४५ बलमा ५ चौका र २ छक्का सहयोगमा इमरान शेखले ५६रनको योगदान दिदै पेभेलियन फर्किए। रसेलले २९ बलमा २ चौका र ५ छक्का सहयोगमा ५२ रनमा अविजित रहे। शुभम रन्जाने ७ रनमा नटआउट रहे।

४० बलमा ३ चौका र ३ छक्का सहयोगमा ५० रन बनाएका लोकेश बम राहुल यादवको बलमा ललित राजवंशीको हातबाट क्याच आउट भए। एनपीएलमा २ अर्धशतक पूरा गर्ने लोकेश पहिलो खेलाडी हुन्।

यसअघि तृतराज दास, सोमपाल कामी, डेविड मलान, मोइन अली, दीपेन्दसिंह ऐरि र लोकेश बमले अर्धशतक हानेका थिए। जारी एनपीएलमा अहिलेसम्म आठ अर्धशतक भएको छ।

जनकपुरका लागि अविशेक तिवारीले २ तथा मोइन अलीले एक विकेट लिए।

एनपीएलको दोस्रो खेलमा आजै पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ।