काठमाडौं । लघुवित्त क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट करदाता घोषित भएको छ। आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ को कर विवरणका आधारमा विभिन्न क्षेत्र तथा कारोबार समूहमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई छनोट गर्ने क्रममा छिमेक लघुवित्तलाई लघुवित्त क्षेत्रतर्फ उत्कृष्ट करदाताका रूपमा सम्मानित गरेको हो।
लघुवित्त क्षेत्रको अग्रणी तथा प्रतिष्ठित संस्थाका रूपमा परिचित छिमेक लघुवित्तले कर दायित्वप्रतिको जिम्मेवारी, वित्तीय अनुशासन र नियमित कर सहभागितालाई निरन्तरता दिँदै आएको छ। उत्कृष्ट करदाताका रूपमा प्राप्त यो सम्मान संस्थाको पारदर्शी वित्तीय अभ्यास, संस्थागत सुशासन र जिम्मेवार व्यावसायिक सञ्चालनको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्रका करदातालाई समेटेर सार्वजनिक गरेको उत्कृष्ट करदाताको सूचीमा छिमेक लघुवित्त लघुवित्त वित्तीय संस्थातर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा परेको हो। सोही सूचीमा बैंकिङ क्षेत्रबाट नबिल बैंक लिमिटेड, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड उत्कृष्ट करदाता घोषित भएका छन्।
वित्तीय सेवा क्षेत्रसँगै कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि, उद्योग, व्यापार तथा सेवा क्षेत्रका अग्रणी संस्थाहरू पनि उत्कृष्ट करदाताको सूचीमा समेटिएका छन्।
