रास्वपाद्धारा रवि विरुद्धको मुद्दा लड्न चन्दा संकलन

गत असार ७ गते भैरहवा कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अपिल सचिवालयबाट जारी भयो ।

त्यो अपिलमार्फत् रविले सहकारी ठगीमा आफूमाथि लागेका आरोपबारे प्रष्टीकरणमात्रै दिएनन् सरकारले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै त्यसविरुद्ध हस्ताक्षर अभियान चलाउनसमेत भने ।

त्यसपछि रास्वपाले हस्ताक्षर अभियानसँगै चन्दा समेत उठाइरहेको छ । हस्ताक्षर गर्ने स्थानमा चन्दा संकलनका लागि क्युआर कोड नै राखिएको छ ।

साथै त्यो क्यआर कोडले रास्वपाका नेता–कार्यकर्ताहरुले देशविदेशमा पठाइरहेको पनि पाइएको छ ।

रविको पक्षमा नागरिकको हस्ताक्षर लिने अभियानका निम्ति चन्दा उठाउनुको कारणबारे प्रश्न उठिरहेको छ । साथै संकलित रकम कहाँ, कसरी राखेर खर्च गर्ने भन्ने पनि स्पष्ट छैन ।

महामन्त्री कबिन्द्र बुर्लाकोटीले हस्ताक्षर अभियान सञ्चालन गर्नका लागि छुट्टै खाता खोलेर स्वतस्फूर्त आर्थिक सहयोग उठाउन क्युआर कोड उपलब्ध गराइएको जानकारी दिएपनि उक्त रकमको लागि किन कोष खडा गरिएन भन्न्े प्रश्न सर्वत्र छ ।