राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री डा मुकुल ढकालले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सुनुवाइका लागि पेशी चढेको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलास नम्बर २ मा परेको मुद्दा पेशी सूचीको क्रम संख्या ‘च’ मा रहेको छ ।
आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै उनले सोही हैसियतमा काम गर्न पाउँ भन्दै हिजो रिट दायर गरेका थिए । रिटमा आफूलाई जिम्मेवारीमुक्त गर्ने रास्वपाको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।
हाल थुनामा रहेका पार्टी सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झालाई ढकालले विपक्षी बनाएका छन् ।
पार्टी सभापति लामिछानेविरुद्ध सार्वजनिक टिप्पणी गरेको आरोपमा महामन्त्री पदबाट हटाइएका ढकाल अहिले पनि निर्वाचन आयोगको अभिलेखमा भने महामन्त्री कायमै छन् ।
आयोगको अभिलेखमा ढकाल नै महामन्त्री रहेको विवरण गत बिहीबार सार्वजनिक भएपछि भोलिपल्ट बसेको रास्वपा केन्द्रीय समिति बैठकले बुर्लाकोटीलाई महामन्त्री र झालाई प्रवक्ता तोकेको थियो ।
त्यसपछि उनी आफू नै महामन्त्री रहेको दाबी गर्दै अदालत पुगेका हुन् ।