बागमती प्रदेशमा साउन महिनादेखि सुरु गरिएको कर्मचारी व्यवस्थापन र सरुवा प्रक्रिया हालसम्म टुङ्गिन सकेको छैन । मन्त्रालय पुनर्संरचनापछि कर्मचारी व्यवस्थापनमा जुटेको प्रदेश सरकारले हालसम्म प्रक्रिया टुङ्ग्याउन नसकेको हो ।
आर्थिक वर्षको पहिलो चौमासिक अवधि समाप्त हुने चरणमा समेत कर्मचारी व्यवस्थापनले पूर्णता पाउन सकेको छैन । गत साउन १ गतेदेखि प्रदेशमा ८ मन्त्रालय रहने गरी सुरु भएको कर्मचारी व्यवस्थापनको काम मंसिर लागिसक्दा पनि टुङ्गिन नसकेको हो । आर्थिक वर्षको सरुवाती चरणमा संगठन तथा व्यवस्थापन ९ओएण्डएम० सर्वेक्षण सक्नै तीन महिना (साउनदेखि असोजसम्म) लागेको थियो भने प्रदेश सरकारको कर्मचारी सरुवा प्रक्रियामा अहिले मन्त्रालयपिच्छे समस्या देखिएको छ । प्रदेशका प्रमुख सचिवको अध्यक्षतामा बसेको बैठकले कात्तिकभित्रै सबै सरुवा सक्ने निर्णय गरे पनि ठुला र प्राविधिक मन्त्रालयको काम अझै अलपत्र छ ।
कर्मचारी सरुवा तथा व्यवस्थापनमा समन्वय अभाव र तथा सरुवा प्रक्रियामा मापदण्ड विपरीत भएको भन्दै कर्मचारीहरूको गुनासो देखिएको छ । कर्मचारी सरुवाका क्रममा मन्त्रालयहरूबिचको अन्तर–समन्वय कमजोर देखिएको छ भने कतिपय मन्त्रालयले प्रक्रियासमेत नपुर्याई सरुवा सूची निकाल्दा समस्या देखिएको छ ।
उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र वन मन्त्रालयले मंसिर ३ मा गरेको कर्मचारी सरुवाको विषय विवादित बनेको छ । मन्त्रालयको सरुवा सूची तीन पटकसम्म हेरफेर गरी अपलोड गरिएको थियो ।
सबैभन्दा धेरै करिब १ हजार ५ सयभन्दा बढी दरबन्दी रहेको स्वास्थ्य मन्त्रालयको सरुवा र व्यवस्थापन अझै सुरु हुन सकेको छैन । स्वास्थ्य सचिवको सरुवा भएपछि अस्पतालदेखि जनस्वास्थ्य कार्यालयसम्मका कर्मचारी तथा प्रशासनिक जनशक्तिको व्यवस्थापन अलपत्र परेको हो ।
करिब ७ सयदेखि ८ सय कर्मचारी रहेको कृषि मन्त्रालयले एक–दुई चरणको तयारी गरे पनि सरुवा टुङ्ग्याउन सकेको छैन । साता दिनमा सकिनुपर्ने सामान्य प्रशासनिक काम महिनौँसम्म लम्बिएपछि प्रदेशका योजना कार्यान्वयन र नियमित सेवा प्रवाहमा समेत असर परेको छ ।
सुगम स्थानमा वर्षौंदेखि बसिरहेका कर्मचारी दुर्गम जान नमान्ने तथा बालबच्चा, स्वास्थ्य र पारिवारिक कारण देखाएर सरुवाविरुद्ध लबिइङ गर्ने प्रवृत्तिले पनि प्रक्रिया थप विवादित बनेको छ ।
