नेपाल र भारतले तयार गरेको ईपीजी अब के हुन्छ ?

भारतका विदेश सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को सन्दर्भ सकिएको धारणा राखेपछि ईपीजी पुन: एकपटक चर्चामा आएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह-बालेनको भारत भ्रमण गरी फर्किएपछि भारतको विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासामा सचिव मिस्रीले उक्त धारणा राखेका थिए । उनले भनेका थिए, ‘म भन्छु कि ईपीजी विगतको कुरा भइसक्यो । हामी पछाडि फर्केर हेरिरहेका छैनौँ ।’

मिस्रीको उक्त भनाइसँगै नेपालमा त्यसको आलोचना भइरहेको छ । नेपालका तर्फबाट ईपीजीका सदस्य रहेका पूर्वराजदूत नीलाम्बर आचार्यले मिस्रीको धारणा गलत भएको र नेपालले यसमा आफ्नो प्रतिक्रिया दिनुपर्ने बताए ।

दुवै देशका सरकारद्वारा गठित ईपीजीले महिनौँ लगाएर तयार पारेको प्रतिवेदनलाई त्यत्तिकै बेवारिसे छाड्न नहुने आचार्यले बताए । उनले भने, ‘प्रतिवेदन बुझ्दै नबुझी, अध्ययन नै नगरी यसरी प्रतिक्रिया दिनु गलत हो ।’ यसको जवाफ सचिव मिस्रीले दिनुपर्ने उनको भनाइ थियो ।

‘के ईपीजीको सन्दर्भ सकिएको हो त ? भन्ने जिज्ञासामा आचार्यले भने, ‘सन्दर्भ सकिएको होइन, झन् बढेको छ ।’

ईपीजीको प्रतिवेदन राखिएको ‘दराजको साँचो’ परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरिसकिएको ईपीजीका अर्का सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले बताए । ‘दुवै देशले गठन गरेको समूहले तयार पारेको प्रतिवेदन कसरी असान्दर्भिक हुन्छ ?’ थापाले प्रश्न गरे ।

त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि ईपीजी प्रतिवेदन असान्दर्भिक भएको भनी एकतर्फी घोषणा गर्नु खेदजनक रहेको टिप्पणी गरेका छन् ।

सन् २०११ मा भट्टराई प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा गएका बेला ईपीजी गठन गर्ने समझदारी भएको थियो ।

त्यतिबेला सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत द्विपक्षीय सम्बन्धका समग्र पक्षहरूको पुनरवलोकन गरी सुझाव दिन दुवै देशका प्रबुद्ध व्यक्तिहरूको समूह गठन गर्ने सैद्धान्तिक सहमति भएको थियो ।

पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री शाहको भारत भ्रमणले द्विपक्षीय सम्बन्धमा सिर्जना गरेको सापेक्षिक सकारात्मक वातावरणमाथि भारतका विदेश सचिव मिस्रीले ‘चिसो पानी खन्याउने’ काम गरेको भनी सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।

ईपीजी प्रतिवेदन एउटा देशले मात्र बनाएको र कुनै खास मुद्दामा मात्र केन्द्रित सामान्य दस्ताबेज नभएर दुवै देशको सहमतिमा निर्मित द्विदेशीय दीर्घकालीन र रणनीतिक समस्या मैत्रीपूर्ण ढङ्गले हल गर्ने विशिष्ट माध्यम रहेको भट्टराईले उल्लेख गरेका छन् । यसलाई लुकाएर दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध दिगो नहुने पनि उनले लेखेका छन् ।

के भन्छ सरकार ?

परराष्ट्र मन्त्रालयले यस विषयमा हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । मन्त्रालयका एक सहसचिवले भने, ‘यो दुई देशबिचको राजनीतिक विषय हो, त्यसलाई त्यही रूपमा समाधान गर्नुपर्छ । यसमा मन्त्रालयले केही बोल्न मिल्दैन ।’ यो विषय उच्च तहबाटै सम्बोधन हुने उनको भनाइ थियो ।

‘मन्त्रालयको दराजमा त्यो प्रतिवेदन सुरक्षित छ, त्यसको सन्दर्भ सकिएको छैन । भारतले नबुझे यसलाई नेपालले आफ्नै तरिकाले सार्वजनिक गर्न मिल्छ तर यो दुई देशबिचको राजनीतिक विषय भएकाले हतार गर्न हुँदैन,’ ती सहसचिवले बताए ।

सन् १९५० को सन्धिलाई परिमार्जन गरी बदलिँदो भू–राजनीति सुहाउँदो बनाउन ईपीजीले सुझाव दिएको छ । सन् १९५० को सन्धिमा रहेको नेपालले तेस्रो मुलुकबाट हतियार खरिद गर्दा भारतको सहमति लिनुपर्ने प्रावधान हटाउने विषय पनि प्रतिवेदनमा समेटिएको समितिका एक सदस्यले बताए ।
ईपीजीका सदस्य एवं पूर्वराजदूत आचार्यले पनि भारतले बुझ्न नमाने यसलाई नेपालले सार्वजनिक गर्नुपर्ने सुझाए ।

‘संसद्बाट हुन्छ कि अरू कुनै माध्यमबाट हुन्छ, यसलाई नेपालले सार्वजनिक गर्नुपर्छ । तर, त्यसअघि भारतसँग पुन: यस विषयमा वार्ता र संवाद गर्नुपर्छ,’ उनले भने । सरकारले प्रतिवेदन बुझिसकेकाले त्यसलाई सार्वजनिक गर्ने दायित्व पनि सरकारकै रहेको आचार्यको भनाइ थियो ।

सन् १९५० को नेपाल–भारत मैत्री सन्धि, कालापानी विवादलगायत दुई देशबिचको सम्बन्धका बृहत् पक्षहरूलाई समेटेर सन् २०१८ मा ईपीजी प्रतिवेदन तयार गरिएको थियो । सन् २०१६ मा केपी शर्मा ओली प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा गएका बेला भएको सम्झौताअनुसार ईपीजी गठन भएको थियो ।

सन् १९५० को सन्धिलाई परिमार्जन गरी बदलिँदो भू–राजनीति सुहाउँदो बनाउन ईपीजीले सुझाव दिएको छ । सन् १९५० को सन्धिमा रहेको नेपालले तेस्रो मुलुकबाट हतियार खरिद गर्दा भारतको सहमति लिनुपर्ने प्रावधान हटाउने विषय पनि प्रतिवेदनमा समेटिएको समितिका एक सदस्यले बताए ।

ईपीजी प्रतिवेदनमा नेपाल–भारत सीमा नियमन गर्न पनि सुझाइएको छ । दुवै देशका नागरिकले सीमा वारपार गर्दा परिचयपत्र देखाउनुपर्ने र निश्चित नाकाबाट मात्र आउजाउ गर्नुपर्ने व्यवस्था प्रतिवेदनमा प्रस्ताव गरिएको छ । त्यस्तै, कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने सुझाव दिइएको छ ।

नेपालको पारवहन अधिकार सुनिश्चित गर्दै भारतका विशाखापटनमलगायत बन्दरगाह र आन्तरिक जलमार्गमा सहज पहुँच दिनुपर्ने विषय पनि प्रतिवेदनमा उल्लेख छ ।

साथै, महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर परियोजनालगायत द्विपक्षीय जलविद्युत् र सिँचाइ परियोजनाहरू दुवै देशको हित हुने गरी कार्यान्वयन गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

 

 

 

रातोपाटीबाट साभार