स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवाली तथा प्रतिनिधिमण्डलले नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानसँग काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा भेटघाट गरेको छ। भेटमा नेपालको उद्यमशीलता विकास, औद्योगिक तथा व्यावसायिक वातावरण निर्माण, स्टार्टअप प्रवर्द्धन र नेपाल-पाकिस्तानबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको छ।
नीति रिसर्चको आयोजनामा सञ्चालन भइरहेको स्टार्टअप समिट नेपाल २०२६ ले नेपालको सातै प्रदेशमा स्टार्टअप सम्मेलन आयोजना गर्ने तयारी गरेको जानकारी गराउँदै अध्यक्ष ज्ञवालीले समिटको उद्देश्य, कार्ययोजना र अभियानको आवश्यकताबारे राजदूत खानलाई जानकारी गराउनुभयो।
उहाँले नेपालमा पढेलेखेका तथा सीपयुक्त युवाहरू उच्च शिक्षा पूरा गरेपछि अवसरको खोजीमा विदेशिने प्रवृत्तिलाई न्यूनीकरण गर्दै उनीहरूलाई स्वदेशमै उद्यमशीलतासँग जोड्नु अभियानको प्रमुख उद्देश्य रहेको बताउनुभयो। प्लस टु तथा स्नातक तहको अध्ययनपछि विदेशिने युवालाई नेपालमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उहाँले साना पुँजीबाट सुरु गर्न सकिने स्टार्टअप तथा उद्यमलाई प्रोत्साहन, वित्तीय पहुँच, प्रविधि र बजारको अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।
नेपालको वास्तविक सम्भावना काठमाडौंमा मात्र सीमित नरहेको उल्लेख गर्दै ज्ञवालीले सातै प्रदेशका ग्रामीण तथा सहरी क्षेत्रका सम्भावना पहिचान गर्ने, महिला, युवा, विद्यार्थी र स्थानीय उद्यमीलाई एउटै मञ्चमा ल्याउने तथा उनीहरूका समस्या र अवसरबारे प्रत्यक्ष छलफल गर्ने उद्देश्यले समिट आयोजना गरिएको बताउनुभयो। नेपाललाई उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढाउँदै औद्योगिक तथा स्टार्टअप हबका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
भेटमा पाकिस्तानी राजदूत खानले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण निर्माण र उद्यमशीलता प्रवर्द्धनका लागि पाकिस्तानले सक्दो सहयोग गर्ने बताउनुभयो। नेपाली र पाकिस्तानी व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार, पाकिस्तानी उद्यमी तथा लगानीकर्तालाई नेपालमा जोड्ने र नेपाली व्यवसायी तथा युवाका लागि पाकिस्तानमा उपलब्ध हुन सक्ने अवसरको खोजी गर्ने विषयमा आफू गम्भीर रहेको उहाँले उल्लेख गर्नुभयो।
राजदूत खानले स्टार्टअप समिट नेपाल २०२६ को उद्देश्य र अभियानलाई सकारात्मक रूपमा लिँदै यसमा पाकिस्तानको तर्फबाट कसरी सहयोग र सहभागिता जनाउन सकिन्छ भन्ने विषयमा गहन रूपमा विचार गर्ने , विशेषगरी सातै प्रदेशका कार्यक्रमहरूमा पाकिस्तानी राजदूतावास जोडिएर जाने र नेपालको उद्यमशीलता विकासमा पाकिस्तानले के-कस्ता सहयोग गर्न सक्छ भन्ने विषयमा आफूले थप पहल गर्ने उहाँको भनाइ थियो।
त्यसैगरी स्टार्टअप समिट नेपाल २०२६ र पाकिस्तानी राजदूतावासबीच विशेष सहकार्य रहेको उल्लेख गर्दै उहाँले दुई देशका व्यवसायी, उद्यमी तथा लगानीकर्ताबीच अनुभव आदानप्रदान, व्यावसायिक सम्बन्ध विस्तार र आपसी अवसरको पहिचान गर्न सकिने धारणा राख्नुभयो।
नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई कूटनीतिक तहमा मात्र सीमित नराखी उद्योग, व्यापार, लगानी, पर्यटन र उद्यमशीलतासम्म विस्तार गर्न यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरिएको थियो।
नीति रिसर्च प्रालिको आयोजनामा सञ्चालन भइरहेको स्टार्टअप समिट नेपाल २०२६ ले सातै प्रदेशका सम्भावना पहिचान गर्दै प्रदेशस्तरीय कार्यक्रमपछि काठमाडौंमा राष्ट्रियस्तरको समिट आयोजना गर्ने लक्ष्य राखेको छ। युवालाई विदेश जान बाध्य बनाउने परिस्थितिको अन्त्य गर्दै नेपालमै उद्यम, रोजगारी र आत्मनिर्भरताको अवसर सिर्जना गर्ने अभियानको मूल ध्येय रहेको छ। यस अभियानमा नेपालस्थित कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय साझेदार, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रलाई जोड्दै नेपालको उद्यमशीलता विकासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्य लिइएको छ।
