अमेरिकी अभिनेता केल्सी चौथो पत्नीबाट आठौं सन्तानको प्रतिक्षामा

अमेरिकी अभिनेता केल्सी ग्रामर फेरि एकपटक बुवा बन्ने तयारीमा छन्।

७० वर्षीय फ्रेजियर स्टार र उनकी ४६ वर्षीया पत्नी केटी वाल्स चौँथो सन्तानको प्रतिक्षामा छन्। यसभन्दा अघि उनीहरूको १२ वर्षीय फेथ, दश वर्षीय गाब्रियल र ८ वर्षीय जेम्स गरी तीन सन्तान रहेका छन्। आगामी सन्तान ग्रामरको लागि भने आठौँ सन्तान हुनेछ।

केल्सी र केटीले सन् २०११ को फेब्रुअरीमा न्युयोर्क सिटीमा विवाह गरेका थिए। विवाहअघि, ग्रामरले रियल हाउसवाइभ्स अफ वेभर्ली हिल्सकी कलाकार क्यामिल ग्रामरसँग सम्बन्धविच्छेद गरेका थिए। जसका साथ उनका २३ वर्षीया छोरी म्यासन र २० वर्षीय छोरा जेड रहेका छन्।

त्यसभन्दाअघि ग्रामरको पूर्व पत्नी डोरीन एल्डरम्यान र पूर्व प्रेमिका बेरि बक्नरको तर्फबाट पनि ४१ र ३३ वर्षीया एक- एक छोरी रहेका छन्।

ग्रामरले पहिले एक अन्तर्वार्तामा आफ्नो अभिनय करियरले आफूलाई राम्रो बाबु बन्न सहयोग गरेको समेत बताएका थिए।

‘मेरो सबैभन्दा खुसीको क्षण भनेको मेरा सबै बच्चाहरू एउटै कोठामा हुँदा हो’ उनले गत जुनमा भराइटिका साथ कुराकानीको क्रममा भनेका थिए ‘कामले मलाई त्यो अवसर दिएको छ। जीवनमा धेरै पीडा, चुनौती, संघर्ष र दु:ख पनि आए। तर यसले मलाई धेरै अनुभव दिएको छ। जुन म आफ्ना बच्चाहरूसँग बाँड्न चाहन्छु।’

गत मे महिनामा उनले पिपुल म्यागजिनलाई दिएको अर्को अन्तरवार्तामा आफू पुराना बच्चाहरूसँग सम्बन्ध सुधार्न प्रयासरत रहेको उनले बताएका थिए।

‘मैले केही बच्चालाई, विशेष गरी शुरूका दुईलाई, समय दिन सकेको थिइन, अब अलि सुधार गर्ने कोसिस गर्दै छु। म अझै तिनीहरूका बाबु हुँ । त्यसैले अझै बाबुको रूपमा उपस्थित हुन सक्छु’ ग्रामीले भनेका छन्।

उनले अबका बच्चाहरूलाई आफ्ना अघिल्ला गल्तीबाट सिकाउन चाहेको पनि बताएका छन्।