जनकपुरमा चामलको भुसबाट तेल उत्पादन उद्योग खुल्दै

भटमासको प्रशोधित तेलको निर्यात तीव्ररूपमा बढिरहेको अवस्थामा जनकपुरमा साढे ६ अर्ब ५७ करोड ४९ लाख रुपैयाँबराबर विदेशी लगानीमा खाद्य तेल उद्योग खोलिने भएको छ।

लगानी बोर्डको ६४औँ बैठकले भारतको विनायक आयल इन्डस्ट्रिजुलाई जनकपुरमा उद्योग स्थापना गर्न स्वीकृति दिइसकेको छ। उद्योग नेपाली व्यवसायी टिबडेवाला समूहसँगको साझेदारीमा सञ्चालन हुने बोर्डले जनाएको छ।

प्रस्तावित उद्योगमा बहुमत स्वामित्व भारतीय कम्पनी विनायक आयल एन्ड फ्याट्स प्रालिको रहने गरी प्रस्ताव पेस भएको हो ।
उद्योगमा विनायक आयलको ६७ प्रतिशत र नेपाली पक्ष टिबडेवालाको ३३ प्रतिशत स्वामित्व रहने गरी लगानी संरचनाको प्रस्वात बोर्डमा पेस भएको छ। उद्योग स्थापना गर्न दुबै पक्षबीच आपसी समझदारी (एमओयू) पनि भइसकेको छ।

नेपालले पछिल्लो समय खाद्य तेल उत्पादनका लागि आवश्यक कच्चा भटमासको तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड र युक्रेनजस्ता मुलुकबाट आयात गर्दै आएको छ। नेपालमै प्रशोधन गरिएका तेलका अधिकांश उत्पादन भारतमा निर्यात हुने गरेका छन्।

चालु आर्थिक वर्ष २०८१८२ को पहिलो ११ महिनामा नेपालको कुल निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको छ भने कुल वैदेशिक व्यापार १८.८० प्रतिशतले बढेको छ।

यस निर्यात वृद्धिमा भटमासको तेलको भूमिका अत्यन्त महत्वपूर्ण देखिएको छ। सो अवधिमा मात्र ९३ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी मूल्यबराबरको भटमासको प्रशोधित तेल भारत पठाइएको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै १ सय ७ गुणा बढी हो।

भारतको सहयोगमा खुल्न थालेको उद्योग विनायक आयल एन्ड फ्याट्स प्रा लि सन् १९९७ मा स्थापना भएको कम्पनी हो। सुरुवाती चरणमा चामलको भुसबाट तेल प्रशोधन गर्ने र प्याकिङ गर्ने सामान्य संयन्त्रबाट सञ्चालनमा आएको यो कम्पनीले वर्षौँदेखि क्रमिक प्रगति गर्दै आएको छ।

हाल यस कम्पनीले दैनिक १ सय ५० मेट्रिक टन क्षमता भएको अत्याधुनिक तेल प्रशोधन उद्योग सञ्चालन गरिरहेको छ।