ललितपुरको मितेरी सहकारीको करोडौँ रूपैयाँ हुण्डीमार्फत कम्बोडिया पुर्याएको खुलेको छ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा कम्बोडियाबाट पक्राउ परेका ज्योतिबहादुर भण्डारीमाथि अनुसन्धान गर्दा भण्डारीले हुण्डीमार्फत रकम विदेश लगेको खुलेको हो।
सीआईबीले मितेरी सहकारी ठगीको आरोपमा अर्का आरोपितलाई पनि पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ। धादिङ घर भई काठमाडौँको सोल्टीमोड बस्ने सुवास खत्रीलाई पनि सीआईबीले पक्राउ गरेको छ।
कम्बोडियामा पक्राउ परेका बर्दियाको बाँसगढी नगरपालिका ७ का ४२ वर्षीय ज्योतिबहादुर भण्डारीलाई असार ४ गते राति नेपाल ल्याइएको थियो।
मितेरीका सञ्चालकहरूले सहकारीको रकम उनीहरू दुवैजनालाई दिएको बताएका थिए।
उनीहरूमार्फत नै सहकारीको रकम हिनामिना गरेको खुलेपछि सीआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
यसअघि सहकारीका सञ्चालक ज्योति गुरुङ र कुम्भराज गुरुङले सहकारीको रकम ज्योतिबहादुर भण्डारी र सुवास खत्री मार्फत नै क्रिप्टो र ब्याजमा लगाएको बताएका थिए।
उनीहरूले बढी ब्याज दिने र क्रिप्टोमा लगानी गरिदिने भन्दै सहकारी सञ्चालकलाई नै ठगी गरेको खुलेको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            