वैदेशिक रोजगार विभागले बिचौलिया अन्त्य गर्न नयाँ उपाय अपनाएको छ । सेवाग्राहीलाई बिचौलियाबाट जोगाउनका निम्ति विभागले विभिन्न शाखाका निर्देशकसहित सम्बन्धित कर्मचारीको मोबाइल नम्बर भएको बोर्ड गेटमा टाँगेको छ ।
श्रम स्वीकृतिसम्बन्धी कामका लागि निर्देशक उपेन्द्रराज पौडेल, शाखा अधिकृत ध्रुव देवकोटा, राहत तथा उद्धार शाखा सम्बन्धमा निर्देशक लवराज जोशी, शाखा अधिकृत पुष्पराज शर्मा, अनुसन्धान तथा मुद्दासम्बन्धी विषयमा निर्देशक भीमसेन काफ्ले, अनुसन्धान अधिकृत निर्मलकुमार पुनको नम्बर दिइएको छ ।
त्यसैगरी, जीटुजी सम्बन्धमा निर्देशक गिरीराज ज्ञवाली, इपीएसका लागि निर्देशक राजकुमार राई, प्रशासन, अनुगमन, संस्था र आईटीसम्बन्धी कामका लागि निर्देशक टिकाराम ढकाल, शाखा अधिकृत तोरण पराजुली, भोजराज खतिवडा र कम्प्युटर इञ्जिनियर नरेश दासको नम्बर राखिएको छ ।
सेवाग्राहीले सिधै फोन गरेर जिज्ञासा, गुनासो राख्न र जानकारी लिन सक्ने विभागले जनाएको छ । साथै, समग्र विषयमा जानकारी लिन उपमहानिर्देशक तथा विभागका प्रवक्ता चन्द्रबहादुर सिवाकोटी तथा गुनासो सुनुवाइका लागि महानिर्देशक कमल प्रसाद भट्टराईको सम्पर्क नम्बर राखिएको छ । यसबाट सेवाग्राहीले सहजता महसुस गर्ने विश्वास विभागले लिएको छ ।