फेसबुक प्रधानमन्त्रीको तर चलाउँछ कसले ?

  • Clock icon
    २०८२ असार १९, बिहीबार १०:१३

प्रधानमन्त्री सत्ता तथा सरकारको सर्वोच्च व्यक्ति हो । देशको कार्यकारी प्रमुखका काम र कर्तव्य धेरै हुन्छन् । ध्याउन्न देश बनाउनतर्फ केन्द्रित हुनुपर्छ । तर अचेल उहाँ काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ सामाजिक सञ्जालतिर अलि बढी नै भुल्न थाल्नुभएको छ ।

फेसबुकमा छिनछिनमा नयाँ–नयाँ पोष्ट देख्न सकिन्छ, ठ्याक्कै धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङसँग दाँज्न मिल्ने गरी । साम्पाङ फेसबुकमा ‘प्रो–एक्टिभ’ छन् । उनले मीनेट–मीनेटमा केही न केही लेखिरहेका हुन्छन् । आइतबार ब्लूटिक भएको प्रधानमन्त्रीको फेसबुक पेज फलोइङ शून्य, फलोअर ६७१ के मा पाँच वटा पोष्ट भएको छ ।

पहिलो पोष्ट निर्यात सम्बन्धमा छ । ११ महिनामा दुई खर्ब ४७ अर्ब ५७ करोडको निर्यात भएको र सो गत वर्षको भन्दा बढी रहेको भन्ने जानकारी दिइएको छ ।

त्योसँगै एउटा पोष्टर शेयर गरिएको छ । जसमा लेखिएको छ, ‘हिस्टोरी अन एक्सपोट्र्स, मेड इन नेपाल, मेड फर द वल्र्ड ।’ त्यसपछि सुर्खेतदेखि काठमाडौंसम्म पैदलयात्रा गरेका नवराज बोहोरासँग भएको भेटको भिडियो हालेको देखिन्छ । फेरि राति गायक दुर्गेश थापालाई पोस्टरसहित स्ट्याटस लेख्दै ‘दुश्मन हेरेको हेर्‍यै’ गीतमा १० करोड भ्युज पुगेको उपलक्ष्यमा सार्वजनिक रूपमै बधाई दिइएको छ ।

त्यसको एक घण्टापछाडि पुनः स्कटल्याण्डमा भएको आइसिसी विश्वकप लिग–२ र टी–२० सिरिज खेलेर फर्किएको क्रिकेट टोलीलाई स्वागत गर्दै आफ्नो फोटोसहितको पोष्टरसहित लेखिएको छ, ‘स्वागत छ टिम नेपाल’ त्यसपछि दैलेखको ग्याँस उत्खनन र नवलपरासीको धौवादी फलाम खानी सञ्चालनका लागि कर्मचारीहरूलाई दिएको निर्देशनबारे पनि स्ट्याट्स लेखिएको छ ।

जानकारी दिने र युवा तप्कासँग जोडिने प्रयत्न राम्रो भए पनि कतिपयले प्रधानमन्त्रीजस्तो व्यक्ति फेसबुकमा झुम्मिएकोमा चर्को विरोध गरेका छन् । साम्याङ धनले पद र कर्तव्यको तालमेल मिलाउन सुझाव दिएका छन् । ‘प्रधानमन्त्रीले देश सञ्चालनको लागि सोच्नुस्, यस्तो बधाई दिने काम हामी गर्छौं, पद र कर्तव्यको तालमेल मिलाउने कि’, उनले लेखेका छन्।

विनोद टण्डनले मुलुकको प्रधानमन्त्रीलाई फुर्सद नै फुर्सद भएको भन्दै कटाक्ष गरेका छन् । भन्छन्, ‘कठै मेरो देशको प्राइम मिनिस्टरको फुर्सद ।’ राजेन्द्र तारकिणीले प्रधानमन्त्रीको बुद्धि रिमालले चलाएपछि त्यस्तो गतिविधि देखिनु स्वाभाविकै भएको भन्दै ब्यंग्य हानेका छन् । लेख्छन्, ‘प्रधानमन्त्रीको बुद्दि नै रिमालहरूले चलाएपछि यस्तै हो ।’ सो फेसबुक पेज प्रधानमन्त्रीको अफिसियल हो । त्यसमा ६ लाख ७१ हजार फलोअर्स छन् ।

महत्वपूर्ण विषय त प्रधानमन्त्री स्वयंले सो पेज चलाउँछन् कि कर्मचारीले रु भन्ने हो । हुन त प्रधानमन्त्रीको फलोअर्स बढाउन पनि चाहिँदो–नचाहिँदो स्ट्याट्स हाल्न थालिएको होला तर यसले बद्नामीभन्दा अरु केही उपलब्धि दिने देखिन्न । प्रधानमन्त्रीले कामै गर्न छोडेर फेसबुक चलाएकोजस्तो देखिन्छ । जसले गर्दा झन् बढी विरोध हुन थालेको छ । त्यसैले फेसबुक ह्याण्डल गर्नेहरूलाई एउटा सुझाव दिइएको छ, ‘प्रधानमन्त्रीलाई जनताको नजरमा जोकर नबनाऊँ’

जनआस्थाबाट साभार

  • Clock icon
    २०८२ असार १९, बिहीबार १०:१३