महिला एसियन कप छनोटअन्तर्गत ग्रुप एफको नेपालसँगको खेलमा उज्बेकिस्तानकी खेलाडीले रेड कार्ड पाएकी छिन्।
घरेलु टोली उज्बेकिस्तानले नेपालविरुद्ध ३–१ को अग्रता बनाएको छ।
सुरुवातमै दुई गोल गरेको उज्बेकिस्तानले महिला एसियन कप छनोटको अन्तिम खेलको पहिलो हाफमा पाएको पेनाल्टी सदुपयोग गर्दै अग्रता फराकिलो पारेको हो।
त्यसअघि खेलको दोस्रो मिनेटमा नै १–० ले अग्रता बनाएको उज्बेकिस्तानले ११ औँ मिनेटमा अग्रता दोब्बर पारेको थियो।
उज्वेकिस्तानकी कप्तानको प्रहार नेपालकी गोलरक्षक अञ्जनालाई बिट गर्दै अघि बढेको बल डिफेन्डर समीक्षा घिमिरेलाई लाग्दै गोलमा परिणत भयो।
खेलको १६ औँ मिनेटमा नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाको पासमा रश्मी कुमारी घिसिङको प्रहार सिधै उज्वेकिस्तानकी गोलरक्षकको हातमा पुग्यो।
सुरुवातदेखि नै दबाबमा परेको नेपालका लागि खेलको २४ औँ मिनेटमा साम्बाको गोलमा नेपाल २–१ को अवस्थामा आयो। उज्वेकिस्तानका डिफेन्डरलाई छक्याउँदै डिबक्स बाहिरबाट साम्बाले गरेको सशक्त प्रहारले सिधै पोष्टको जाली चुम्यो।
खेलको ३८ औँ मिनेटमा उज्वेकिस्तानले पेनाल्टी गोलमा नेपालविरुद्ध अग्रता फराकिलो पारेको छ। डिबक्सभित्र नेपालकी डिफेन्डर सरस्वती हमालको ह्याण्ड भएपछि उज्वेकिस्तानकी पेनाल्टी पाएको थियो।