सरकारलाई दिएको समर्थन नाउपाद्धारा फिर्ता

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

आज शनिबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले नीति लाई जानकारी दिनुभयो ।

आज संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं,ु उहाँले भन्नुभयो ।

अध्यक्ष श्रेष्ठले भोलि नै सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय भएको नीति लाई उल्लेख गर्नुभयो ।

नाउपाबाट अरूणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री हुनुहुन्छ ।

उहाँले भोलि नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने कार्यक्रम छ ।

नाउपाले यसअघि सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।

सुदूरपश्चिम प्रदेश सरकारबाट आफ्नो दलको मन्त्री हटाइएको विषयमा नाउपा असन्तुष्ट छ।

सत्ता साझेदार दल भए पनि छलफल नै नगरी मन्त्री हटाइएपछि नाउपाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नाउपाका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गर्नुभएको थियो ।

पावर टिलर वितरणमा अनियमितता देखिएको भन्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई राजीनामा भन्नुभएको थियो । उहामाथि खप्तड क्षेत्र पर्यटन विकास समितिको पदाधिकारी नियुक्तिमा पनि चलखेल गरेको आरोप छ।

राजीनामा नदिएपछि मुख्यमन्त्रीले मन्त्री चौधरीलाई बर्खास्त गर्नुभएको हो ।

त्यही विषयमा संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

संघीय संसदको प्रतिनिधि सभामा नाउपाका चार जना सांसद छन्।