नेपाल धितोपत्र बोर्डका विवादित अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई सांसदहरूले प्रश्नै प्रश्न राखेर र्याखर्याखती पारेका छन्।
जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्काशन (आईपीओ) स्वीकृतिमा कमिसन मागेको आरोप लागेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान राडारमा परेका अध्यक्ष श्रेष्ठलाई आज बिहीबार अर्थ समितिमा सांसदहरूले एकपछि अर्को गरी प्रश्न सोधेका हुन्।
सांसदहरूले श्रेष्ठलाई स्वार्थसमूहबाट परिचालित भएको, बजार नियामक भएर आफैँ खेलाडी बन्न खोजेको, आफ्नो लगानीको कम्पनीलाई आईपीओ निष्काशन गर्न स्वीकृति दिएको, पारदर्शिता नदेखाएको, बिचौलियको प्रभावमा परेर नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिन लागेकोलगायत प्रश्न तेर्स्याएका थिए।
बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुनले बजार नियामक भएर आफैँ खेलाडी बन्न खोजेको बताउनुभयो ।
नियामक निकायको नेतृत्व सम्हालेर पारदर्शी रुपमा दायित्व निर्वाहमा चुकेको पुनको भनाइ थियो।
‘खेलमा रेफ्री आफैँले खेल्नेरु’, सन्तोषनारायणलाई उहाँको प्रश्न थियो।
बोर्ड अध्यक्ष श्रेष्ठ र उनका परिवारका सदस्य सेयरधनी रहेको बुङगल हाइड्रोको आईपीओ निष्काशन गर्न अनुमति दिएकोमा समेत पुनले प्रश्न गर्नुभएको थियो।
‘श्रेष्ठ आफैँ रेफ्री र आफैँ खेलाडी’ बन्न खोजेकोमा पुनको प्रश्न थियो, ‘अरुको हाइड्रो रोक्ने आफ्नोलाई चाहिँ जारी गर्न दिनेजस्ता कुराहरू छन्, यसले पारदर्शितालाई धुमिल बनाएको छ। नियमनकारी निकायको पारदर्शितालाई यसले बचाउन सकेन।’
उहाँले नियुक्ति जसरी भए पनि नियामक भइसकेपछि सोहीअनुसार जिम्मेवार भएर काम गर्न अध्यक्ष श्रेष्ठको ध्यानाकर्षण गराउनुभयो ।