छाउपडी गोठमा सुतिरहेकी महिलालाई सर्पले डस्यो, उपचारका क्रममा मृत्यु

  • Clock icon
    २०८२ असार २९, आईतवार १३:३१

कञ्चनपुरको कृष्णपुर नगरपालिका १ निगालीकी २८ वर्षीय कमला दमाई (आउजी) को सर्पदंशबाट मृत्यु भएको छ। महिनावारी (रजस्वाला) भएका समयमा घरको आँगनमै रहेको छाउपडी गोठमा सुत्न गएका बेला उनलाई बायाँ गालामा शुक्रबार सर्पले डसेको थियो।

तत्काल उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएको थियो। उपचारका क्रममा दमाईको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमलाका तीन ससाना सन्तान छन्। मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन्। दमाईको बस्नका लागि पक्की घर भए पनि महिनावारी भएपछि सुत्नका लागि घरको आँगनमै बनाइएको गोठमै जाने गरेको स्थानीय बासिन्दाको भनाइ छ।

स्थानीयका अनुसार कमला दुई महिनाअघिमात्र भारतबाट घर आइपुगेकी थिइन्। नगरप्रमुख हेमराज ओझाले गोठमा सर्पदंशबाट महिलाको मृत्यु खबर सुन्दा स्तब्ध भएको बताए।

यसैबीच कन्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्र रहेका छाउ गोठ १५ भित्र भत्काउन निर्देशन दिएको छ।

  • Clock icon
    २०८२ असार २९, आईतवार १३:३१